स्थापना दिवसमा दैलेखमा दिप प्रज्वलन
दैलेख । नेपाल महिला संघको ७४ औं स्थापना दिवसको अबसरमा दैलेख जिल्ला सदरमुकाममा दिपप्रज्वलन गरिएको छ । सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ जिल्ला कार्य समितिको आयोजनामा दिपप्रज्वलन गरिएको हो ।
नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता रानाले देशमा प्रजातन्त्र पुर्नस्थापना, महिलालाई मतदानको अधिकार लगायत महिला मुक्तिका लागि नेपाल महिला संघले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताईन । उनले भनिन, कोरोना भाइरसको महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाई सामान्य रुपमा कार्यक्रम आयोजना गरी दिपप्रज्वलन गरेका हौं ।
२००४ साल साउन २४ गते देशमा प्रजातन्त्रको पुर्नस्थापना, महिला मुक्तिको आन्दोलनका लागि काठमाडौंमा भूमिगतरुपमा नेपाल महिला संगठनको स्थापना गरिएको थियो । तत्कालीन जहाँनिया राणा शासनकालमा महिलाहरुलाई मतदानको अधिकार समेत बन्चित गरिएकोले त्यसको विरुद्धमा नेपाल महिला संघका संस्थापक स्वर्गीय मंगलादेवी सिंहले महिला संगठन स्थापना भएको जानकारी रानाले दिईन ।
दिप प्रज्वलनमा नेपाली काँग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, कोषाध्यक्ष पूर्णबहादुर खत्री, नेपाल महिला संघ दैलेखका अध्यक्ष सिता राना, नेपाली काँग्रेसका जिल्लास्तरिय नेता, महिला संघका नेतृहरुको सहभागिता रहेको थियो । जिल्ला सदरमुकामको केन्द्र देवकोटा चोकमा दिपप्रज्वलन गरिएको हो ।
