वनका राजालाई खाद्यान्न र पाल हस्तान्तरण
दैलेख ।दक्षिण एशियाको एकमात्र भ्रमणशिल राउटे समुदायलाई पाल र खाद्यान्न हस्तान्तरण गरिएको छ । कर्णाली प्रदेशको सल्यान जिल्लाको कालिमाटी गाउँपालिका ५ जंगलमा बसोबास गर्दै आएका राउटे समुदायलाई गएको शनिवार पाल र खाद्यान्न सहयोग हस्तान्तरण गरिएको हो ।
‘गैरराउटेलाई कोटको राजा र आफुलाई बोटको राजा’ भन्न रुचाउने समुदायलाई प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, गुराँस गाउँपालिका, सोसेक नेपाल र राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोग र समन्वयमा राहत वितरण गरिएको सामाजिक सेवा केन्द्र सोसेका संस्थापक अध्यक्ष हिरासिंह थापाले बताए ।
सल्यानको कालिमाटी गाउँपालिका बसोबास गरिरहेका राउटे समुदायका ४४ घरधुरीलाई १ लाख २ हजार बराबरको खाद्यान्नहरु चामल, नुन, दाल, खुर्सानी तथा तरकारीमा मुला सहयोग गरिएको इन्टरप्राइजेज काठमाडौंका राकेश जैनले जानकारी दिए । सरकार र गैरराउटेको खेतीपाती गर,स्थानीयबसोबास गर,पढ लेख गर कुरालाई अस्वीकार गर्दै आएका पछिल्लो समय लोपोन्मुख हुने क्रममा रहेको स्थानीयबासी बताउँछन् । जैनले भने ‘लोपोन्मुख नागरिकलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । कर्णाली प्रदेश सभाका उप–सभामुख पुष्पा घर्ती (बिष्ट), आन्तरिक मामिला तथा कानून मन्त्री सीता कुमारी नेपाली, सोसेक नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्वअध्यक्ष सिता राना सहितको टोलीले राउटे बस्तीमै पुगेर खाद्यान्न र पाल सहयोग गरिएको हो ।
प्रदेश सरकारको सहयोग पाल
कर्णाली प्रदेश सरकारले ४४ घरपरिवारलाई प्रतिपरिवार एक वटा पाल सहयोग गरेको छ । राउटे समुदायले निरन्तर प्रयोग गर्दै आएको कपडाको पाल प्रदान गरेको हो । पाल हस्तान्तरण गर्दै,कर्णाली प्रदेश सरकारकार आन्तरिक मामिला तथा कानून मन्त्री सीता कुमारी नेपालीले कर्णाली प्रदेशभित्र फिरन्ते जीवनयापन गर्दै आएको राउटे समुदायको संरक्षण सम्र्बद्धनमा प्रदेश सरकार लागि परेको बताइन् ।राउटे समुदायको संरक्षण र सुरक्षाका लागि नीति निर्माणको क्रममा रहेको मन्त्री नेपालीको भनाई छ ।
‘मदिरा सेवनले राउटेको स्वास्थ्यमा गम्भिर असर गरिरहेको बताउँदै मन्त्री नेपालीले भनिन् ‘राउटे समुदायमा अत्याधिक मदिरा सेवनलाई नरोक्ने हो भने राउटे समुदाय नै लोप हुने खतरा छ ।’

विगत ३ बर्षदेखी सोसेकले राउटे बस्तीका लागि औषधी उपचारको लागि स्वास्थ्यकर्मी र शिक्षा सिकाउनको लागि जोडि शिक्षक परिचालन गरेको छ । राउटे परियोजना अन्तरगर्त वनका राजाको उपचारका लागि अहेव र स्वास्थ्य तथा सरसफाई, बालबालिकाको शिक्षामा जोड दिन जोडी शिक्षकलाई बस्तीमै परिचालन गरेको संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । नेपालका सम्पदा र कर्णाली प्रदेशका गहनाका रुपमा चिनिदै आएको राउटे समुदाय दैलेखको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा हुन् । राउटे १ सय ४२ जना छन् ।
