श्रीमानबाटै जलिन सुत्केरी हस्तना
दैलेख । दैलेखको पश्चिम भैरवी गाउँपालिका –५ गौरीसल्लाकी चार महिनाकी सुत्केरीलाई अगुल्टो झोस्दा घाईते भएकी छन् । श्रीमान दिपक नेपालीले २६ बर्षिया पत्नी हस्तना नेपालीलाई तातोपानी र अगुल्टो झोसेर घाईते बनाएका हुन् ।
गएको विहिवार राती ९ बजेतिर मदिरा सेवनगरि आएका दिपकले आफुलाई देउता चढेको भन्दै चार महिना सुत्केरी हस्तना माथि तातोपानी र अगुल्टो झोसेर घाईते बनाएका थिए । घाईते सुत्केरीको जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भइरहेको छ ।
श्रीमान दिपकले तातो पानी खन्याउनुका साथै ढाडको दाहिने भाग र अनुहारको देब्रे भागमा अगुल्टोले प्रहार गरेको हस्तनाको भनाइ छ । मलाई अगुल्टोले हान्दै गरेको बेला भागेर आँगनमा पुगी छिमेकीहरुसँग गुहार मागें, छिमेकीहरुले उद्दार गरेर राती नै डाँडीमाथिकै स्थानीय मेडिकलमा सामान्य उपचार भयो’ हस्तनाले पिडा सुनाईन ।
विहिवार राती घटेको घटनाबारे शुक्रबारमात्रै प्रहरीमा खबर पुगेपछि प्रहरी चौकी डाँडीमाडीले पीडित हस्तनालाई दैलेख अस्पताल पु¥याएको थियो । हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालमा डा. जगत थापाले बताए । ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त छ, उपचार यहीँ सम्भव छ’, डा. थापाले भने ।

पत्निलाई तातोपानी र अगुल्टो झोस्ने दिपकलाई प्रहरीले पक्राउ गरिसकेको छ । दिपकलाई पक्राउ गरेर हिरासतमा राखेर कानुनी पक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक इन्द्रजित सुनारले बताए । हिंसा हुनुको मुख्य कारण मदिरा सेवन नै हो,उनले भने ।
दिपकविरुद्ध माईती पक्ष हस्तनाकी आमा पाना दमाईले कारबाहीको माग गर्दै दिपक विरुद्ध जाहेरी दिएकी छिन ्। पाँच वर्ष अघि दिपकसँग विवाह गरेकी हस्तना दुई सन्तानकी आमा हुन् ।
हस्तनाको तीनवर्षिया र चार महिनाको छोरी छन् । हस्तनाका बुबा कपुरे दमाईले छोरीलाई यातना दिने दिपकलाई कडा कारबाही गर्न माग गरेका छन ्। उनले भने ‘मेरी छोरी, ४ महिने सुत्केरी जलाउन खोज्ने दिपक (ज्वाइ) लाई कडा कारवाही हुनुपर्छ ।
