कोरोना विरुद्ध लड्न कारितासको सहयोग
दैलेख । कोभिड–१९ विरुद्ध लड्न कारितासले दैलेख जिल्ला अस्पताललाई २६ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार कारितास नेपालले स्वास्थ्य सेवा कार्यालय दैलेखलाई २६ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
कारितास नेपालले दैलेख अस्पताललाई २० थान अक्सिजन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ३४ थान पल्सअक्सिमिटर, ४ सय ५० थान पीपिई सेट, ५ सय १५ बक्स सर्जिकल मास्क, १ सय बक्स सर्जिकल ग्लोब्स र २ सय १० वटा हेण्डसेनीटाइजर सहयोग गरेको क्षेत्रीय कार्यालय कोहलपुर बाँकेका क्षेत्रीय संयोजक जनकप्रसाद शर्माले बताए ।
उनले भने, हामीले दैलेख अस्पतालमा आपत्तकालिन अवस्थामा कोभिड–१९ को उपचार गर्न आएका विरामीलाई सेवा प्रदान गर्न ३ जना स्वयसेवक खटाएका छौं । स्वंयमसेवकहरुबाट २ सय ३० जना व्यक्तिहरुले प्रत्यक्ष रुपमा मनोसामाजिक परामर्श सेवा लिएका छन भने सेवालाई थप प्रभावकारी बनाउन हेल्पलाइन नम्बर ९८०१५७३०३१ सञ्चालन गरिनेछ ।
स्वयंमसेवकहरुले कोभिड–१९ बाट प्रभावित र अति जोखिममा परेका व्यक्ति तथा परिवारहरुलाई एक जना बराबर दुई हजार दुई सयका दरले ४ सय ८२ जनालाई १२ लाख २५ हजार ४८५ रुपैयाँ बराबरको आइसोलेसन किट उपलब्ध गराईनेछ,संयोजक शर्माले थपे ।
कारितासले ३० बर्षदेखी नेपालका ५० भन्दा बढी जिल्ला कल्याणकारी सेवा दिदै आएको छ भने,हाल दैलेख लगायत १४ वटा जिल्लामा कोभिड १९ को संक्रमण विरुद्ध परियोजना सञ्चालन छ । कारितासले मानव अधिकार प्रर्वधन, शान्ति निर्माण, सामुदायिक विकास परियोजना, गरिबी तथा विपद् जोखिम न्यूनिकरण परियोजना र आपत्तकालिन मानवीय सेवाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
क्षेत्रिय संयोजक शर्माका अनुसार परियोजनाले स्वास्थ्य संस्थाहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने, नागरिक सहायता कक्ष सञ्चालन, अस्पताल र आइसोलेसन केन्द्रमा संक्रमित भएर आउने व्यक्तिहरुलाई आवश्यक सहायता क्रियाकलाप सञ्चालन गरिरहेको छ ।
नारायण नगरपालिका उपप्रमुख सावित्रि मल्ल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाको उपस्थितिमा स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी लाई कोभिड १९ विरुद्धको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
