चार करोडको लगानीमा कर्णालीमा पहिलो टिस्यूकल्चर ल्याव निर्माण
घोडाबास (दैलेख) । दैलेखको गुराँस गाउँपालिका –४ घोडाबासमा चार करोडको लगानीमा प्रदेशकै पहिलो टिस्यूकल्चर ल्याव निर्माण गरिएको छ । कृषकलाई व्यावसायिक कृषक बनाई तरकारीबाट आत्मनिर्भर बनाउन आलुको मुल विऊ उत्पादन गर्न टिस्यूकल्चर ल्याव निर्माण गरिएको हो ।
गुराँस गाउँपालिका र कृषि विकास फार्मको संयुक्त साझेदारी टिस्यूकल्चर ल्याव निर्माण गरिएको हो । टिस्यूकल्चर, कलमी तथा हाइब्रिट प्रविधिबाट विरुवाहरु उत्पादन गर्ने उदेश्यले ल्याब निर्माण गरिएको नेपाल कृषि विकास फार्मका सञ्चालक देवेन्द्र अधिकारीले बताए । उनले भने, ल्याबको ९० प्रतिशत काम सकिएको छ । टिस्यूकल्चर ल्याब सञ्चालनमा आए वार्षिक आलुको पूर्व मुल विऊ १० लाख दाना र पाँच लाख ओटा फलफूलका विरुवा उत्पादन गर्ने योजना छ रहेको नेपाल कृषि विकास फार्मका सञ्चालक देवेन्द्र अधिकारीले जानकारी दिए ।

टिस्यूकल्चर ल्यावमा उच्चस्तरिय र स्वस्थ गुणस्तरिय आलुको मुल विऊ उत्पादन हुने गर्छ । व्यावसायिक कृषकलाई विउ खरिदको लागि बाहिर जानुपर्ने बाध्यता समाधान हुन्छ । विउमा कृषक ठगिने डरबाट मुक्त हुन्छ । ल्याबको विऊ गुणस्तरिय हुन्छ र उत्पादनमा वृद्धि गर्छ,’ ।‘ल्याबबाट उत्पादित विऊ शत प्रतिशत स्वस्थ हुनेहुँदा विऊ खेर जाँदैन् र कृषकहरुलाई खेती गर्न सहज हुन्छ’ उनले भने ।
गुराँसका दुई हजार ८०० जना कृषकलाई व्यवसायिक बनाउन र आम्दानीमा बृद्धि गरि आत्मनिर्भर बनाउन ल्याबको निर्माण गर्नको लागिएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । ‘ ल्यावबाट कृषकले सस्तो र गुणस्तरिय विउ पाउँछन् । ल्याब नहुँदा महँगोमा विऊ खरिद गर्न बाध्यता थियो । गुराँस मात्र नभई कर्णाली प्रदेश लगायत बाह्य जिल्लामा समेत निर्यात गरिने छ ,अध्यक्षले बताए ।‘वर्षौदेखी कृषिमा लागेका कृषकहरुलाई यो प्रविधिबाट उपलव्ध हुने विऊले आम्दानीको स्तर ह्वात्तै बढ्नेमा आशा गरेका छौं ।’

ल्याबले आलुको पूर्व विऊ उत्पादन आउने असोजदेखि शुरु गर्ने तयारी गरेको छ । तर हाइटेक नर्सरीबाट उत्पादन गरिएका फलफूलका विरुवाहरु कर्णाली प्रदेशमा मात्र नभई ४८ जिल्लामा निर्यात हुने गरेको कृषि फार्मका सञ्चालक देवेन्द्र अधिकारीले जानकारी दिए । मुख्यगरी, कर्णाली र लुम्बिनी प्रदेशमा गुराँसेको विऊ निर्यात भइरहेको छ । पहाडी हावापानीमा फल्ने फलफूलका विरुवा उत्पादन गर्ने ल्याबको लागत निर्माण चार करोडको हो ।
टिस्यूकल्चर ल्याव निर्माणका लागि गुराँस गाउँपालिकाको एक करोड ९५ लाख,कृषि विकास फार्मको दुई करोड पाँच लाख र प्रदेश सरकारको ३० लाख गरि चार करोड ३० लाख लगानी रहेको गुराँस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक आर्चायले बताए । उनले भने, याबबाट हुने आम्दानीको २० प्रतिशत गुराँस पालिकाको राजश्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ । ल्याब निर्माणसँगै प्रत्यक्ष रुपमा १९ जना बेरोजागर युवाहरुले रोजगारी पाएका छन् । ७० रोपनी क्षेत्रफल रहेको टिस्यूकल्चर ल्याव २१ वर्षसम्म जमिन भाडा लिएको छ ।
