ओलीले पार्टी एकताको ढोका बन्द गरिसकेकाले तत्काल एकताको सम्भावना छैन : नेता नेपाल
एमाले विभाजन
काठमाडाैँ । नेकपा एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेता माधवकुमार नेपालले ओखलढुंगाका एमाले नेताहरूको बैठकलाई सम्बोधन गरेका छन्।
एमालेमा आन्तरिक विवाद बढेपछि पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफ्नो पक्षमा लागेका ओखलढुंगाका नेताहरूलाई सोमबार नेता नेपालले भर्चुअल माध्यमबाट सम्बोधन गरेका हुन्।
३० मिनेट सम्बोधन गरेका नेता नेपालले ओलिको अहंकारले पार्टी एकता हुन नसकेको बताए। नेपालको कम्युनिस्ट आन्दोलन अब विसर्जनतिर पुगेको बताउँदै नेता नेपालले सबै कार्यकर्तालाई उच्च मनोबलका साथ नयाँ पार्टीमा सशक्त ढंगले अघि बढ्न आह्वान गरेका छन्।
‘केपी ओलीकै कारण देश र कम्युनिस्ट आन्दोलन दुर्घटनामा जान लागेकाले नयाँ पार्टी निर्माण गर्नुपर्ने परिस्थिति आयो। फेरि एकता हुँदैन भन्ने छैन।
तर, अहिले कुरा नमिलेकाले नयाँ पार्टी बनाउनुपरेको हो,’ उनले भने, ‘ओलीले पार्टी एकताको ढोका बन्द गरिसकेकाले अब तत्काल एकताको सम्भावना छैन।’ नेता नेपालले एमालेका अधिकांश नेता–कार्यकर्ताले नयाँ पार्टी गठन र संगठन निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
बैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगाबाट निर्वाचित प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले तत्काल विभाजन रोज्न नसकिने संकेत गरेका गरे।
नेता नेपालको सम्बोधनपछि जिल्लामा एमाले विभाजनको संकेत देखिएको बैठकमा सहभागी एक नेताले बताए। ‘माधव नेपालले एकताको भन्दा पनि विद्रोहको सन्देशसहित सम्बोधन गर्नुभयो। उहाँको विचारमा सहमत केही नेताहरू नयाँ पार्टीमा लाग्ने सम्भावना देखिएको छ,’ उनले भने।
अहिले नेपाल पक्ष र संस्थापन पक्षको जिल्ला कमिटी बैठक छुट्टाछुट्टै चलिरहेको छ।
