नेकपा समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोगमा
काठमाडौँ । प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्।
अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु दल दर्ताको सनाखतका लागि चन्द्रागिरिबाट निर्वाचन आयोग पुगेका हुन्।
एमालेका सांसद र केन्द्रीय सदस्य गरि ६७ जना सनाखतका लागि उपस्थित भएका छन्।
यसअघि नयाँ पार्टी गठनमा आफ्नो सहमति नरहेको बताएका नेता प्रदीप नेपाल पनि सनाखतका लागि आयोगको कार्यालयमा पुगेका छन्।
निर्वाचन आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ।
दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ।
नाम मात्रै उल्लेख भएका र पछि आयोगमा निवेदन दिएका केन्द्रीय सदस्य एवं सांसदहरुलाई सनाखतमा सहभागी नगराउने निर्णय आयोगले गरेको हो।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर समूहका नेताहरु पनि निर्वाचन आयोग पुगेका छन्।
सनाखतपछि आजै दुवै पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ।
