के नेकपा समाजवादी देशकै ठुलो दल बन्छ त ?
नेकपा एमाले विभाजन
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का नेताहरुले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन्।
बुधबार निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले यस्तो बताएका हुन्।
अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको चौधरीले बताए।
चौधरीले भने, ‘प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ, त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छ।’
यस्तै, प्रस्तावित नेकपा एकीकृत समाजवादीको पक्षमा अहिलेसम्म ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। तर एकीकृत समाजवादीको पक्षमा रहेको भन्दै आयोगको कार्यालयमा पुगेका तीनजनाको सनाखत हुन सकेको छैन।
पार्टी दर्ताका लागि पेश गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले शारदा भट्ट, माया ज्ञवाली र सोमप्रसाद पाण्डेको सनाखत गर्न नमानेको हो।
उनीहरुका सम्बन्धमा के गर्ने भनेर आयोगका पदाधिकारी र एकीकृत समाजवादीका नेताहरुबीच अहिले छलफल चलिरहको छ।
