भिम रावललाई धक्का, विश्वास पात्रले नै छाडे साथ
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एकलौटी वर्चस्व जमाउँदै आएका एमाले नेता भीम रावल एमाले विभाजनपछि निकै कमजोर देखिने भएका छन्। सुदूरपश्चिम प्रदेशमा एकलौटी छ भन्दै गरेका नेता रावलका विश्वास पात्रले समेत उनलाई छोडेका छन्।
लामो समयदेखि एमाले अध्यक्ष ओलीको कडा आलोचना गरिरहेका नेता रावल पार्टी विभाजनसँगै ओलीकै पक्षमा लागेपछि उनको पक्षमा रहेका प्रदेश सभा सदस्य भने विपक्षमा लागेका छन्। एमालेभित्र देखिएको विवादले गर्दा सात महिनासम्म रावलको दबदबा रह्यो प्रदेशमा। यति सम्मकी एमालेभित्र विवाद भएदेखि रावलको अनुमति बिना प्रदेश सरकारमा कुनै पनि निर्णय हुन सकेन। रावलको अनुमतिमा नै गत जेठ १५ मा प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको थियो।
बुधबार एमालेबाट छुटिएका माधव नेपाल पक्षधरहरुले आफ्नो छुट्टै पाटी निर्वाचन आयोगमा दर्ता गरेपछि सुदूरपश्चिममा को–कसको खेमातर्फ भन्ने बहस सुरु भएको छ। सुदूरपश्चिममा तत्कालीन समयमा पार्टी र प्रदेशसभामा नेपाल समूहको वर्चश्व रहेको थियो। रावल पनि नेपाल समूहमै थिए। जसका कारण उनी निकै बलियो बनेका थिए तर, अहिले नेता नेपालले नयाँ पार्टी दर्ता गरेका छन्। एमालेमा देखिएको यो पछिल्लो घटनाक्रमले सुदूरपश्चिममा रावलले आफ्नो आधार इलाका गुमाउने देखिएको छ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेमा सभामुखसहित २५ जना सांसद छन्। त्यसमध्ये यसअघि माधव नेपाल समूहमा १७ जना खुलेका थिए भने ओली पक्षमा सात जना मात्रै थिए। पार्टी फुटेपछि अब यो संख्यामा केही फेरबदल हुनेछ।
स्रोतका अनुसार यसअघि नेपाल पक्षमा रहेका दुई जना मात्र रावल पक्षमा जाँदैछन्। उनीहरु ओलीभन्दा पनि रावललाई नेता मान्ने भएकै कारण सो समूहमा जान लागेका हुन्। एमाले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र हर्क बहादुर कुँवर रावल पक्षमा देखिएका छन्। तर यसअघि रावलका विश्वास पात्र रहेका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका दीर्घ सोडारी नेपाल पक्षमा खुलेका छन्। सोडारीसँगै प्रदेश सभा सदस्य अमर साउँद, बलबहादुर सोडारी, कृष्णराज सुवेदी पनि नयाँ पार्टीमा खुलेका छन्।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट एकीकृत समाजवादीको केन्द्रीय कमिटीमै छन्। मन्त्री जोशीले भने प्रदेशसभामा यसअघि नेपाल समूहमा रहेका सबै नयाँ पार्टीमा आउने दावी गरेकी छन्।
प्रदेश सांसद तारा लामा तामाङले पनि यसअघि नेपाल समूहमा रहेका सबै एकै ठाउँमा रहेको बताइसकेका छन्। यद्यपि उनले एकै ठाउँ भनेपनि कहाँ खुल्ने भनेर स्पष्ट पारेनन्। पूर्व मन्त्रीसमेत रहेका सांसदले पनि नेता नेपाललाई छोड्न नसकिने संकेत गरेका छन्। यद्यपि प्रदेशमा अहिले नै को कसको पक्षमा भन्न सकिन्ने अवस्था पनि नरहेको नेताहरु बताउने गरेका छन्।
