साउनमा एक खर्ब ७१ अर्बको व्यापार
काठमाडौं। चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ। आव २०७७/७८ को सोही अवधिमा नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात भएको थियो।
आव २०७७/७८ मा कूल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४१ अर्ब १२ करोड पुगेको थियो। अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले वृद्धि भएको थियो। आव २०७७/७८ मा कूल १५ खर्ब ३९ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्ष यस्तो आयात १५.६ प्रतिशतले घटेको थियो। आव २०७७/७८ मा कूल वस्तु व्यापार घाटा वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको थियो। अघिल्लो वर्ष यस्तो घाटा १६.८ प्रतिशतले घटेको थियो।
चालू आवको पहिलो महिनामा व्यापार घाटा रु एक खर्ब २९ अर्ब ९६ करोड बराबर पुगेको छ। गत वर्षको साउनको तुलनामा २०७८ साउनमा व्यापार घाटा ७०.५९ प्रतिशतले बढेको छ। गत साउनमा एक खर्ब ७१ अर्ब ४९ करोड बराबरको वैदेशिक व्यापार भएको छ। भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८९ अर्ब ४८ करोड बराबरको वस्तु आयात भएको छ भने नेपालबाट १६ अर्ब ८६ करोड बराबरको माल वस्तु निर्यात भएको छ। चीनबाट २० अर्ब ९७ करोड बराबरको माल वस्तु आयात भएको छ भने नेपालबाट चीनतर्फ मात्रै आठ करोड बराबरको निर्यात भएको छ।
विभागका अनुसार सबैभन्दा बढी वस्तु आयात र निर्यात वीरगन्ज भन्सारबाटै भएको छ। त्यसपछि विराटनगर भन्सारबाट बढी निर्यात भएको छ। सो भन्सारको निर्याततर्फको हिस्सा २८.२३ प्रतिशत छ। -रासस
