‘हाइकमाण्ड’ गठनको तयारीमा एकीकृत समाजवादी, को-को छन् सूचीमा ?
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले ‘हाइकमाण्ड’ गठन गर्ने तयारी गरेको छ। एकीकृत समाजवादी पार्टीले तत्काल निर्णय गर्नका लागि पाँच सदस्यीय हाइकमाण्ड गठन गर्ने तयारी गरेको हो।
निर्वाचन आयोगबाट बुधबार मात्र दर्ता प्रमाण पत्र पाएको एकीकृत समाजवादीले पार्टी संगठनात्मक संरचनालाई पूर्णता दिन बाँकी छ।
राजनीतिक तथा संगठनात्मक कार्यभारसम्बन्धी आवश्यक निर्णय लिन सहजताका लागि हाइकमाण्ड गठन गर्न लागिएको बताइएको छ।
समाजवादीका एक नेताले दिएको जानकारी अनुसार हाइकमाण्डले पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधि, राजनीतिक तथा संवैधानिक नियुक्ति र शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउनेछ।
‘हाइकमाण्ड’मा को-को हुनेछन् ?
हाइकमाण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल हुनेछन्। वामदेव गौतम पनि केही समयपछि थपिने बताइएको छ।
