हुम्लाको किट क्षेत्रमा बाटो बनेपछि सीमास्तम्भको अनुगमन गर्न सुरक्षाकर्मीलाई सहज
सिमीकाेट । नेपाल र चीनको सिमाना हिल्सादेखि पश्चिम सीमा स्तम्भ रहेको किट क्षेत्रमा सुरक्षाकर्मीलाई अनुमगन गर्न सहज भएको छ ।
हिल्साबाट किटसम्म सडक निर्माण भएपछि सुरक्षाकर्मीलाई सीमास्तम्भहरुको दैनिक रुपमा अनुगमन गर्न सहज भएको हो ।
सीमा सुरक्षा चौकी (बिओपी) सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले हिल्साबाट किटसम्म सडक निर्माण भएसँगै सीमा स्तम्भको अनुगमन गर्न सहज र छिटो भएको बताए ।
सडक निर्माणसँगै हिल्सामा रहेको बिओपीका सुरक्षाकर्मीलाई सीमा स्तम्भको अनुगमन गर्न सहज भएको हो । सीमा सुरक्षाका लागि गत वर्षदेखि हिल्सामा बिओपी स्थापना गरिएको हो ।
यसअघि सडक निर्माण नभएको बेला पहिरोले पुरेको घोडेटो बाटो हुँदा सुरक्षाकर्मीलाई सो क्षेत्रमा जान निक्कै सास्ती हुने गरेको थियो । चट्टानी भीरको बाटोबाट जान सुरक्षाकर्मीले ज्यानको जोखिम उठाउनु पर्ने थियो ।
बाटो बनेसँगै पाँचदेखि सात नम्बर सीमास्तम्भहरुको अनुगमन गर्न दैनिक रुपमा जान सहज भएको जानकारी दिए । गत पुस महिनादेखि निर्माण सुरु भएको उक्त सडकको निर्माण कार्य असार महिनामा सम्पन्न हुँदा सर्वसाधारणदेखि सुरक्षाकर्मीहरुलाई आउजाउमा सहज भएको हो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख देवी ऐडीले सो क्षेत्रको दुई किलोमिटर सडक निर्माण गर्न ५० लाख रुपैयाँ लागेको बताए । यसका लागि कर्णाली प्रदेशसभाका सदस्य जीवन बहादुर शाहीले प्रदेश पूर्वाधार विकास विशेष कार्यक्रमबाट बजेटको व्यवस्था गरेका थिए ।
