सरिता गिरी भन्छिन– अग्नि सापकोटा जस्तो अनैतिक सभामुख मैले संसारमै देखेको छैन्
काठमाडौं । जनता समाजवादीबाट निष्कासित नेतृ सरिता गिरीले सभामुख अग्निप्रसाद सापकोटाले पदमा बसिरहन नसुहाउने बताएकी छन्।
दलहरुले गरेको एकै प्रकारको कारवाहीलाई पनि फरक फरक व्याख्या गरेर फरक निर्णय दिएको भन्दै सभामुखका रुपमा सापकोटाले बसिरहन नसुहाउने तर्क गरेकी हुन्।
नेपालले जारी गरेको नक्साविरुद्ध उभिएको भन्दै २०७७ जेठमा जसपाले गरेको कारबाहीलाई सभामुख सापकोटाले तत्कालै कार्यान्वय गरेर आफ्नो सांसद पद खोसिदिएको पनि गिरीले बताएकी छन्।
सभामुख अग्नि सापकोटाजी राजीनामा दिनुस् र सभामुख पदको गरिमा बचाइ दिनुस्। तपाईं सभामुख हुने योग्य व्यक्ति होइन, उनले भनेकी छन्, मेरो सांसद सदस्यताबारे तपाईंले हतार हतार आफनो पनि कुरा थपी निर्णय गरी मेरो सांसद सदस्यता खानुभयो। कानुनले तपाईंलाई आफनो कुरा थप्न अधिकार दिएको छैन।
गिरीले निर्वाचन आयोगले जसपाबारे निर्णय गरिसकेर दुवै पार्टी का नेतालाई प्रमाण पत्र लिन बोलाइसके अवस्थामा पनि सभामुखले राजनीतिक पूर्वाग्रह राखेर कारवाही गरेको उनको तर्क छ।
निर्वाचन आयोगले प्रमाणपत्र लिन बोलाउँदा पनि तपाईँको निर्णय पर्खिबसेका जसपाको दुवै पक्षका नेता प्रमाण पत्र लिन गएनन्, उनले भनेकी छन्, त्यो दिन शुक्रवार थियो। आइतवार तपाईँले सूचना निकाल्नु भयो। नेताहरु त्यस दिन सम्राटको चालमा हिँड्दै निर्वाचन आयोगबाट प्रमाणपत्र लिएर जसपा भएका थिए।
उनले सभामुखले त्यसबेला न्यायको हत्या गरेको पनि आरोप लगाएकी छन्। न्यायको हत्या त्यस दिन पनि भएको थियो र जसपा पनि टिकेन। तपाईं त्यसदिन बाबुरामजीको कार्यकर्ता हुनुभयो। मेरो आँखा पनि खुल्यो, उनले थपेकी छन्, म कहिले पनि मधेसी दलमा लाग्ने छैन। म कट्टरपन्थी कम्युनिष्टको विरोधी भएको छु। उनीहरुको हातमा कानुन बाँदरको हातमा नरिवल जस्तै छ।
तर आफ्नो हकमा हतार हतार कारवाही चलाएका सभामुखले यस पटक एमालेको हकमा निर्वाचन आयोगमा नेकपा समाजवादी एकीकृत दर्ता भइसकेपछि निर्णय दिएर कानुनको दुरुपयोग गरेको उनले आरोप लगाएकी छन्।
यस पटक सांसदबारे तपाईँले ढिलो निर्णय गर्नुभयो। किनभने निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता हुने प्रक्रियामा थियो, उनले थपेकी छन्, पार्टी एमाले बाट तपाईँले कारवाहीको पत्र पहिला नै पाइसक्नु भएको थियो। तर समयमा निर्णय गर्नुभएन। दाँत भराउन जानु भयो।
उनले सभामुखको यो कार्यलाई अनैतिक भनेकी छन्। यस्तो अनैतिक सभामुख संसारमा कतै भएको उदाहरण पाउन गाह्रो हुन्छु, गिरीले अन्तिममा भनेकी छन्, न्यायको हत्या भएपछि कुर्सी त हल्लिन्छ नै, सभामुखज्यू। मैले न्यायको हत्या गर्ने सबैको हबिगत देखिरहेको छु।
