उत्तर कोरियाले फेरि सुरु गर्यो आणविक भट्टी
उत्तर कोरियाले आफ्नो एक महत्वपूर्ण आणविक केन्द्रलाई फेरि सक्रिय बनाएको छ।
प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो।
ad
केन्द्रबाट आणविक विस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक उर्जा निकाय (आइएइए) ले जनाएको हो।
ad
योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसोपानी बगिरहेकाले उत्तरले आफ्ना आणविक गतिविधि सुचारु गरेको पुष्टि भएको आइएइएले जनाएको छ।
पाँच मेगावाट रेक्टरको योङवायोन केन्द्र उत्तर कोरियाको महत्वपूर्ण आणविक भट्टी हो।
सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीचको भेटवार्तापछि सो आणविक भट्टीलाई प्योङयाङले बन्द गरेको थियो।
आइएइएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला छ। केन्द्र विगत पाँच महिनादेखि सञ्चालनमा आएको जनाइएको छ।
केन्द्र वरपर भएका गतिविधि राष्ट्रसंघको सुरक्षा परिषदको निर्णयविपरीत भएको आइएइएले जनाइएको छ।
यसैबीच, दक्षिण कोरियाले उत्तर कोरियाका गतिविधिलाई चासोपूर्वक हेरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ।
