सरकारलाई पूर्णता दिन छलफलमा जुट्यो सत्तारूढ गठबन्धन
काठमाडौं। सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले नेताहरूबीच छलफल भइरहेको जानकारी दिए।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका डा. बाबुराम भट्टराई सहभागी छन्। नेताहरुबीच मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय भागबण्डालगायत विषयमा छलफल केन्द्रीत भइरहेको बुझिएको छ।
सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो। माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मन्त्रालय भागबण्डाको टुंगो पनि आजै लाग्ने सक्ने सम्भावना छ। सोमबार माओवादी केन्द्रको बैठक बसेको थियो। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए।
