भौतिकवादी द्वन्द्ववादका ९ दार्शनिक अवधारणा
आ-आफ्ना अध्ययन क्षेत्रको विषयवस्तु र प्रक्रियागत स्पष्टता र सहज ज्ञानका लागि दार्शनिक तथा वैज्ञानिकहरूले आ-आफ्नो क्षेत्रमा केही स्वयमसिद्ध मूल अवधारणाहरू प्रतिपादित र स्वीकृत गरेका छन्। दर्शन र विज्ञानको क्षेत्रमा प्रयोग गरिने यस्ता आधारभूत स्वयमसिद्ध अवधारणाहरू ऐतिहासिक विकासको क्रममा मानिसले प्राप्त गरेको ज्ञान र प्रयोगात्मक क्रियाकलापहरूबाट प्राप्त अनुभवहरूको संश्लेषणबाट स्थापित र स्वीकृत मान्यताहरू हुन। यस्ता मान्यताहरू मध्ये केही स्वयमसिद्ध सार्वभौम सत्य बोध गराउने अवधारणाको रूपमा स्थापित छन् भने केही मानवद्वारा प्राप्त गरिने नयाँ-नयाँ ज्ञान, तथा नयाँ अनुसन्धानहरूको लागि आवश्यक विधि विज्ञानका लागि आवश्यकताको आधारमा स्थापित र स्वीकार गरिएका अवधारणाहरूको रूपमा पनि छन्।
त्यस्तै द्वन्दवादका केही अवधारणाहरू, जस्तैः तत्व/पदार्थ, गति, व्योम/आकाश, काल/दिक्, मात्रा, गुण, आम विशिष्ट, सीमित-असीमित, आदि अवधारणाहरू अपरिमेय, निरपेक्ष स्वयमसिद्धलाई सम्बोधन गरिने भावसंज्ञक अवधारणा हुन भने द्वन्द्वात्मक परिवर्तनका अमूर्त सार्वभौम नियमहरू बधक या सर्वत्र कसरी लागु हुन्छन् भन्ने बोधगम्य प्रमाणिकताका लागि विभिन्न प्रक्रियापरक र विधिपरक अवधारणा प्रतिपादित गरिएका छन्। जसले ती क्षेत्रमा भौतिक गतिका सार्वभौम नियमहरूले काम गर्ने प्रक्रिया, तिनका गतिको चारित्रिक विशेषता र कारणको बोध गराउँछन्। यीनै अवधारणाहरूको माध्यमबाट मात्र मूल नियमहरू बुझ्न र परिभाषित गर्न सकिन्छ। अन्यथा ती बोधगम्य छैनन्। बोधगम्यताका लागि विभिन्न क्षेत्रमा व्यवहारिक प्रयोजनका लागि मान्य गरिएका केही साझा अवधारण छन् भने केही कुनै खास वा विशिष्ट क्षेत्रको अध्ययन अनुसन्धान विवेचनका लागि मात्र प्रयुक्त हुने अवधारणा छन्। जस्तै समाज विज्ञानको विशिष्ट क्षेत्रमा चेतना, वर्ग, वर्गसंघर्ष, पूँजी, श्रम, ज्याला आदि मानव समाजको अध्ययन, अनुसन्धान तथा व्यवहारिक विवेचनका लागि मात्र प्रयुक्त हुन्छन् भने विज्ञानको क्षेत्रमा पदार्थ, गति, आयतन, घनत्व, मात्रा, सीमितता, असीमितता, अणु, परमाणु, न्युक्लियस, कोशिका आदि अवधारणा।
माथि नै भनी सकियो भौतिक जगतको द्वन्द्वात्मक परिवर्तन र विकासका उपरोक्त नैसर्गिक र सार्वभौम आम नियमहरू अमूर्त प्रकृतिका अवधारणा हुन। यी आफै विशुद्ध रूपमा अभिव्यक्त हुँदैनन् बल्की तिनलाई द्वन्द्वात्मक गतिका प्रक्रियागत र चरित्रगत अवधारणाहरूको माध्यमबाट मात्र बुझ्न सकिन्छ। र मार्क्सवादले ती सार्वभौम नियमहरूको वस्तुगतताको पुष्ट्याइ यस्ता प्रक्रियागत अवधारणहरू, जस्तै वस्तु तथा परिघटनाहरूको अन्तरस्थ सार र उपरि रूप, समभाब्यता र वास्तविकता, सार्वभौम, खास र विशिष्ट, सार र रूप, नियमितता र आकस्मिकता आदि अवधारणहरूबाट गरेका छन्। जस्तै पदार्थ तथा परिघटनाहरूमा हुने परिवर्तनका सहसम्बन्ध तथा द्वन्द्व, पक्ष र प्रतिपक्ष, एकत्व र विरोधाभासको माध्यमबाट पदार्थमा अन्तरस्थ ‘परस्पर विरोधी अवयवहरूका एकत्व र संघर्षको नियम जीवन व्यवहारमा बोधगम्य हुन्छ भने कुनै बस्तु, परिघटना र प्रक्रियाहरूको ‘गुण’, ‘मात्र’, ‘मापन’, ‘क्रमभंगता वा फड्को’ आदि जस्ता अवधारणाहरूबाट ‘मात्रात्मक परिवर्तनबाट गुणात्मक रुपान्तरणको नियम बोधगम्य हुन्छ।
१. तत्व/पदार्थ : दर्शनशास्त्रमा प्रयुक्त ‘आदितत्व’, ब्रह्म, शिव, महत्तत्त्व, प्रकृति, द्रव्य जस्ता दार्शनिक अवधारणा निरपेक्ष ब्रह्माण्डीय सृष्टि संरचनाको ‘कार्य-कारण’ संज्ञक अमूर्त, अव्यय, निरपेक्षलाई सम्बोधन गर्न प्रयोग गरिएका आदितत्व संज्ञक शब्द हुन्। यी भाषित छन् तर भाष्यको परिधि र सामर्थ्य भन्दा बाहिर छन्। यी आफैमा अगम्य, अगोचर ‘अस्ति’ बोधक सम्बोधन हुन्। अमूर्त आदितत्व आफ्नो ‘विशुद्ध’ निरपेक्ष रूपमा कतै अभिव्यक्त छैन तर सृष्टिरचनाको मूल आधरको रूपमा सर्वत्र व्याप्त छ। अर्थात् ‘निरपेक्ष’को ‘निरपेक्ष’रूपमा अभिव्यक्ति छैन र हुन सक्दैन त्यो सापेक्ष विशिष्ट रूपमा मात्र अभिव्यक्त हुन्छ। प्रकृति ‘समष्टि’ आफैमा गम्य, स्पश्र्य, भोग्य, परिमेय रूपभन्दा पर अज्ञेय रूपमा अस्तित्ववान् छ। यो ‘निरपेक्ष समष्टि’ केवल आफ्ना ‘सापेक्ष विशिष्ट’ प्रकृतिका विविध रूपबाट अभिव्यक्त छ, जुन भोग्य छ, दृश्य छ, स्पश्र्य छ, गम्य र परिमेय छ। प्रकृतिका यी यावत विशिष्ट अंगहरूको आफ्नै गुण धर्म छन्, आफ्नै सापेक्षिक विशिष्टता छन् र आ-आफ्नो स्वत्तसहित स्वतन्त्र रूपले अस्तित्वमा छन् र तिनको आ-आफ्नै गुण धर्म र विशिष्टता सहित पहिचान छ। त्यसै अनुरूप मानव र मानव समाज पनि ‘समष्टि प्रकृतिको’ एउटा विशिष्ट अभिव्यक्त रूप हो।
२. व्योम (आकाश) र काल (दिक्) : आकाश र काल गतिमान तत्वका विशिष्ट, वस्तुगत, सत्य र शाश्वत रूप र अवस्थितका माध्यम हुन। यसभन्दा बाहिर कुनै पनि पदार्थ तथा परिघटनाहरूको अस्तित्व सम्भव छैन। पदार्थका विविध अभिव्यक्त रूपको ज्ञान र मापन यीनकै माध्यमबाट हुन्छ। जस्तै प्राचीन भारतीय दर्शनमा आकाश परिमेय र अपरिमेय दुइटै रूप मानिएको छ। कुनै पनि वस्तुवेष्ठित आकाश, जसको मापन गर्न सकिन्छ र आकार-प्रकार बुझ्न सकिन्छ, त्यसलाई अव्यक्त ‘समष्टि’आकाशको व्यक्त ‘व्यष्टि’ रूप ‘घटाकाश’ भनिएको छ भने त्यसको समष्टि, अव्यक्त र अपरिमेय अवधारणालाई ‘समष्टि’ आकाश, भनिएको छ।
आकाशले हामीलाई कुनै पनि वस्तुको उपस्थिति, आकार, प्रकार, दुरत्व, निकटस्थ, तल-माथि, लामो-होचो, वस्तुको आयतन आदिको बोध तथा ठाउँ परिवर्तन, आकार र आयतनमा परिवर्तन आदिको बोध गराउँछ। यो यस कुराको प्रमाण हो कि विभिन्न वस्तुहरूको रूपमा अभिव्यक्त पदार्थ आकाशको परिधिभित्र र आकाश परिवेष्टित छ र यो गतिमान पदार्थको अस्तित्वबोधका लागि पहिलो आधारभूत सर्तको रूपमा छ।
काल (समय) पनि गतिमान पदार्थको अस्तित्व बोध गराउने वस्तुगत सत्य र यथार्थ रूप हो। जसले मानवलाई विगत-वर्तमान-भविष्य, उत्पत्ति- विकास- विनाशको बोध र कुनै वस्तु, परिघटना आदिको अवधि, प्रकृति र परिघटनाहरूको कालगणना आदिको बोध गराउँछ। जसको आधारमा हामी कुनै पनि ‘अस्ति’को कालगणना, कार्यसम्पादनको अवधि आदिको गणना गर्छौ। व्यौम र काल अपरिमेय ‘अस्ति’को अस्तित्वका सार्वभौम यथार्थ रूप हुन्। यी आफ्नो विशुद्ध स्थूल रूपमा, अर्थात् स्पर्श गर्न सकिने, हेर्न बोक्न सकिन आदि रूपमा अभिव्यक्त छैनन्। तर निरन्तर गतिमान छन्। यी समष्टि प्रकृतिका विशिष्ट रूपहरूको माध्यमबाट अनुभूत गर्न सकिने र त्यसैको माध्यमबाट मापन गर्न सकिने गतिका रूप हुन। हिन्दु दर्शनमा समय (काललाई) सम्पूर्ण उत्पत्ति र विनाशको कारक मानिएको छ र सबको स्थिति आकाशमा मानिएको छ-
“अनन्ता शक्तिऽयोव्यक्ते मायाद्धाः संस्थिता ध्रुवाः ।
तस्मिन दिवि स्थितं नित्यमव्यक्तं भाषित केवलम्”।
अर्थात् सम्पूर्ण कुरा ध्रुव सत्य तन्मात्रारूप आकाशमा स्थित छन् र प्रकाशमान छन् ।
कालः सृजति भूतानि कालः संहरति प्रजाः ।
कालस्य वशगा सर्वे न कालः कस्यचिद् वशे ।
अर्थात्, काल नै सम्पूर्णको सृष्टिकर्ता हो र काल नै उसको संहार गर्छ। सम्पूर्ण कुरा कालको वशमा छ, काल कसैको वशमा छैन। (कुर्म पुराण)
३. गति : द्वन्द्वात्मक भौतिकवादको सार पदार्थ र उसका विभिन्न व्यक्त रूपको अस्तित्व नैसर्गिक द्वन्द्वात्मक गतिमा छ। गति पदार्थका अस्तित्वको माध्यम हो। गति बिना सृष्टिको अस्तित्व अकल्पनीय कुरा हो। अठारौं शताब्दीका फ्रान्सेली भौतिकवादी दार्शनिकहरूले पदार्थ र गतिलाई एक अर्काबाट अलग्याउन सकिन्न भिन्ने अवधारणाको बीजारोपण गरे र मार्क्सले यसलाई भौतिक जगतका अस्तित्वको माध्यमको रूपमा प्रस्तुत गरे। सामान्यतया हामी गति भन्नाले कुनै बस्तुको स्थान परिवर्तनको रूपमा लिन्छौ। जस्तै हवाको वेग, पानीको बहाव, यन्त्रहरूको घुमाई वा गुडाई आदि। तर यी गतिका स्थूल रूप हुन्, गतिका रूपहरूको ‘समष्टि’ होइनन्। दार्शनिक अर्थमा गतिको अर्थ कुनै पदार्थ, परिघटा आदिमा हुने परिवर्तन, तिनका आन्तरिक सहसम्बन्धमा हुने परिवर्तन तथा बाह्य प्रभावबाट रूप र सारमा हुने परिवर्तनको कारणबाट प्राप्त हुने नयाँ अवस्था हो। पदार्थ र परिघटनाहरूमा हुने प्रत्येक परिवर्तन गति हो र गति पदार्थको नैसर्गिक स्वत्व र अन्तरस्थ गुणधर्मिता हो। ऐंगेल्सले आफ्नो प्रसिद्ध ग्रन्थ ‘डायलेक्टिक्स औफ नेचर’मा गतिलाई चार समूहमा बाडेका छन्- ‘फीजीकल मोशन’, ‘क्यामिकल मोशन’, ‘बायोलौजीकल मोशन’ र ‘सोसिल मोशन’।
भौतिक- यो गतिको सबभन्दा सरल रूप हो। विषयवस्तुको रेखात्मक स्थानान्तरण, वृत्तिय गति, खगोल पिण्डीय गति, भौगर्भिक गति, इलेक्ट्रो म्यागनीटिक गति, अटोमिक मोशन आदि जस्ता यसका विभिन्न रूप छन्, जसलाई हामी सोझै दृष्टिगत गर्न सक्छौ, मापन गर्न सक्छौ, परस्पर तुलना गर्न सक्दछौ, आदि।
रासायनिक गति- यो भौतिक गति भन्दा जटिल गति हो। यसमा भौतिक गतिका साथै आफ्नै विशिष्ट गति पनि निहित छ। पदार्थको अणु, परमाणु आदिको संगठन र संरचाको परिवर्तनबाट पदार्थ एक रूपबाट अर्को रूपमा परिवर्तन हुनु, परमाणुहरूको सम्मिलनबाट मोलीकूल, कृष्टल आदि बडी जटिल संरचनाको निर्माण र उष्माको कारण हुने परिवर्तन आदि रासायनिक गतिका रूप हुन्। यस प्रक्रियामा एकतर्फ भौतिक गति क्रियाशील रहन्छ भने अर्कोतर्फ यसको आफ्नै विशिष्ट गति पनि छ।
जैविक गति- यो माथि भनिएका दुइटै गतिभन्दा बढी जटिल र बहुआयामिक गति हो। यसमा एकतर्फ भौतिक र रासायनिक गति सहित आफ्ना विशिष्ट गति र रूपान्तरणका जटिल प्रक्रिया समाहित छन् भने अर्कोतर्फ रूपान्तरण सहित पुनरुत्पादन, क्षयीकरण र पुनर्निर्माण, पारस्परिक इन्टरचेन्जेविलीटीका सम्भावना आदि जस्ता गतिका जटिलतम अति विशिष्ट रूपहरू पनि अन्तर निहित छन्। मानव जातिले अहिले सम्म यस गतिका सम्पूर्ण रूपहरूको ज्ञान प्राप्त गर्न सकेको छैन। यसको थाहा पाउने प्रक्रियामा मानवद्वारा अन्य सजीव तत्वका साथै आफैले आफै माथि गर्ने अनुसन्धानको प्रक्रिया पूर्ण ज्ञान प्राप्ति तर्फको यात्रा हो। यो गति प्रकृतिका यावत जीवित प्राणीहरू, ‘सुपर और्गानिक सिष्टम’-जस्तै जीवजन्तुका विविध परिवार, और्गानिज्मका आ-आफ्ना समूहहरू, विभिन्न ‘स्पेसीज’हरू, ‘वायोजियोसेनोसिस’ लगायत सम्पूर्ण ‘बायोस्फेयर’आदिमा सामान्य आम चरित्र सहित आ-आफ्नै विशिष्टता सहित विद्यमान छ। प्राणीहरूमा हुने विशिष्ट स्वचालित प्रक्रिया ‘मेटावोलिज्म’- अर्थात् जीवनजगतद्वारा आत्मरक्षण र अंगहरूको पुनरुत्पादनको परिपूर्तिका लागि और्गानिज्महरूलाई आवश्यक तत्वहरूको आदान प्रदान प्रक्रिया यस गतिको मूल सार हो।
सामाजिक गति- गतिका उपरोक्त तीन रूप विश्व ब्रह्माण्डको भौतिक संरचनाका विविध क्षेत्रहरूमा क्रियाशील गतिको सार बुझाउने आधारभूत पक्ष हुन भने राजनैतिक कार्यकर्ता, समाज शास्त्री, अर्थशास्त्री, सामाजिक दर्शनका विद्यार्थी आदिका लागि सामाजिक गति बुझ्नु त्यतिकै आवश्यक र महत्वपूर्ण विषय हो। यहाँ ध्यान दिनुपर्ने खास कुरा के हो भने एकतर्फ सामाजिक गतिले सामाजिक जीवनमा निरन्तर भइरहने सामाजिक परिवर्तन, विविध गतिविधि, सामाजिक सम्बन्ध, उत्पादन प्रक्रिया र उत्पादन सम्बन्ध, व्यक्ति देखी राज्यसत्ता, संस्कार, संस्कृति आस्था, विश्वास आदिका सम्बन्धका साथै विभिन्न सामाजिक संरचनाबीचका अन्तरसम्बन्ध, प्रकृति र मानवबीचका सम्बन्ध, ज्ञान, चेतना, अनुभव, संवेदना, मानव मस्तिष्क आदिको समष्टिगत गति, जसबाट समाज परिवर्तनको प्रक्रिया चलिरहेको हुन्छ, त्यस समष्टिगत गतिलाई एकमुष्ट रूपमा व्यक्त गर्छ भने अर्कोतर्फ यसले सामाजिक जीवनका विविध विभागमा रहने परिवर्तनको आ-आफ्नै गतिलाई पनि समेटेको छ। तेस्रो तर्फ ‘व्यक्ति’को स्वत्व आफै जीवित और्गनहरूका एकत्व र अन्तरसम्बन्धको संगठित अभिव्यक्ति भएकोले यो बायोलौजिकल गतिको मातहत छ। त्यसकारण समष्टिगत रूपमा सामाजिक गति यी सम्पूर्ण गतिको समन्वीकृत, जटिल तथा विकसित रूप भएको हुँदा यो प्रकृतिको सर्वोच्च र जटिलतम रूप हो। पदार्थका गतिका रूपहरूको क्रमिकता हेर्ने हो भने यो सरलबाट जटिलता र निम्नबाट उच्च र बढी विकसित र जटिल अवस्थामा संक्रमित हुँदै गएको छ र परिवर्तनबाट प्राप्त हुने नयाँ जटिल तथा उच्च अवस्तबाट पुनः पहिलेको सरल तथा निम्न अवस्थामा यसको संक्रमण सम्भव छैन। त्यस्तै सामाजिक गतिको दिशा सधैँ निम्नबाट उच्च र सरलबाट जटिलता तिरको उध्र्व रेखामा छ।
४. नियमितता र आकस्मिकता : माथि नै भनियो प्रकृतिको प्रत्येक वस्तु पारस्परिक सम्बन्धहरूमा आबद्ध छ र गति यसको नैसर्गिक चरित्र हो। नियमितता यी स्थायी तथा आधारभूत सम्बन्धहरूको गतिले नयाँ परिघटना घटित हुनका लागि संयोजन गर्ने बस्तुगत अवस्थाको अपरिहार्य तार्किक परिणाम हो र त्यो पूर्वसंयोजित वस्तुगत अवस्था अनुसार त्यहीरूपमा अवश्यम्भावी हुन्छ नै। तर यसको द्वन्द्वात्मक चरित्र न बुझी यान्त्रिक अर्थमा बुझ्यो भने मानव चिन्तनलाई भाग्यवादमा पुर्याउन खतरा सधैं रहन्छ। एउटा कुरा स्पष्टतासाथ के बुझ्नु पर्दछ भने सामान्यतया ‘नियमितता’ सधैं र सर्वत्र पूर्वसंयोजित अवस्थाले नियमित गरे अनुसार परिघटिन हुन्छ। तर, सधैं त्यहीरूपमा घटित हुन्छ नै भन्न सकिन्न, किनकि कुनै पनि आकस्मिकताको कारणले अपेक्षा गरेको अवस्थाभन्दा भित्र परिणाम अगाडि आउन सक्छ। आकस्मिकता यस्तो परिघटना हो जसको हामी न पूर्वानुमान गर्न सक्छौ नत त्यसलाई घटित हुनबाट रोक्न सक्छौ। आकस्मिकता घटित हुन पनि सक्छ न हुन पनि सक्छ। तर यसका सम्भावना सधैं रहन्छन्।
परिवर्तन र विकासलाई ‘मेटाफीजिकल’ (अधिभौतिकवादी) रूपमा सामान्य घटी-बढी भइरहने परिवर्तनको रूपमा होइन यसका द्वन्द्वात्मक चरित्रसहितका अन्तरसम्बन्ध र अन्तरद्वन्द्वको सापेक्ष बुझ्नु पर्छ र यस प्रक्रियामा अगाडि आउने बहुआयामिक परिवर्तनको नियमितताका विविध पक्षका साथै आकस्मिकताको प्रभाव आदि सापेक्ष हेर्नु पर्दछ। सामान्यरूपमा परिवर्तनको प्रक्रियाको मूल चरित्र उध्र्वगामी भए पनि यो सधैं उध्र्वगामी सरल रेखामा मात्र जाँदैन। विशेष गरेर सामाजिक परिघटनाहरूमा आकस्मिकताको प्रभावले यसको दिशा परिवर्तन पनि गर्ने गर्छ र अवस्था विशेषमा यसमा अनेकौं घुम्ती तथा उतार चढाव र प्रतिगमनको अवस्था पनि आउने गर्छन्। यस्तो अवस्था विशेष गरेर सामाजिक परिघटनाहरू र राजनैतिक परिवर्तनको चरणमा झन् जटिलरूपमा अगाडि आउँछ, किनभने त्यहाँ यस प्रक्रियासँगै सक्रिय हुने विभिन्न राजनैतिक पार्टी, वैचारिक धार, वर्ग र सामाजिक तपका, धार्मिक तथा सांस्कृतिक आस्था आदि त्यस क्रान्तिकारी परिघटनालाई आ-आफ्नो स्वार्थ अनुसार मोड्न सक्रिय रहन्छ जसले आकस्मिकतालाई निम्त्याउने बढी सम्भावना रहन्छन्। यसको सही आंकलन नगरी क्रान्तिकारी परिवर्तनहरू अगाडि बढाउँदा विकास प्रक्रिया प्रतिगमन तिर मोडिने बढी सम्भावना रहन्छन्। क्रान्तिकारी गतिविधि अगाडि बढाउँदा नियमितताका साथै आकस्मिकताका सम्भावनाहरूलाई पनि मध्यनजर राख्नु आवश्यक हुन्छ।
५. स्वतन्त्रता र अनिवार्यता : आफ्ना राजनैतिक क्रियाकलापहरूमा सामाजिक परिघटनाहरूलाई सहीरूपमा बुझ्न र परिवर्तनको गतिलाई सही दिशा दिन क्रान्तिकारीहरूको सचेत र सक्रिय क्रियाकलापको अहम् भूमिका रहन्छ। यसका लागि द्वन्द्वात्मक भौतिकवादको ‘स्वतन्त्रता र अनिवार्यता’ अवधारणा अत्यन्त महत्वपूर्ण अवधारणा हो। पारस्परिक निर्भरता र अन्तरसम्बन्धको जटिल गतिमा रहने सामाजिक विकास प्रक्रियाले परिवर्तनको ‘अपरिहार्यता’लाई जन्म दिन्छ र परिवर्तन अपरिहार्य हुन्छ। तर, यो अवस्था हेगलले भने जस्तो प्राकृतिक परिवर्तनका ‘अपरिहार्यता’ र ‘स्वतन्त्रता’को नियम जस्तो अन्ध रूपमा लागू हुने नभै त्यसलाई मानवका सक्रिय र सचेत क्रियाकलापले आफू अनुकूल हुने दिशा दिन सकिने ‘स्वतन्त्रता’ पनि विद्यमान रहन्छ। जस्तो भनौं हाम्रो वर्तमान अवस्थालाई परिवर्तन गर्नु पर्ने सामाजिक अनिवार्यता हामी सामु छ र त्यसका लागि आर्थिक सामाजिक रूपान्तरणको अपरिहार्यता छ। तर त्यसलाई स्वतन्त्र पूँजीवादी विकासको दिशामा जान दिने वा समाजवाद उन्मुख दिशामा मोड्ने स्वतन्त्रता पनि हामीसँग छ। तर, चट्याङ पर्ने, भूकम्प आउने जस्ता प्राकृतिक अपरिहार्यतालाई बदल्नु सक्ने क्षमता मानिससँग छैन।
६. अन्तरवस्तु र बाह्य संरचना : विश्व चराचरमा परिघटित हुने कुनै पनि परिघटना वा अस्तित्ववान् विषयवस्तु उसका अन्तरवस्तु र बाह्य रूपको एकत्व हो। विषयवस्तु वा परिघटनाहरूको अन्तरवस्तु यसको अन्तरस्थ गुणधर्म, त्यसका आन्तरिक गतिशील प्रक्रिया, तिनका अन्तरसम्बन्ध र अन्तरद्वन्द्व तथा परिवर्तन र विकासको प्रवृत्तिहरूको समन्वित अभिव्यक्ति हो भने सापेक्षिक रूपमा स्थिर र निश्चितरूपमा बोधगम्य, त्यसको बाह्य रूप आकृति त्यसका अन्तर वस्तुका अस्तित्वको माध्यम हो। कुनै पनि विषयवस्तु वा परिघटनाहरूका अन्तरवस्तु र बाह्य संरचना एक अर्कोसङ आफ्नै निश्चित खास रूपमा आबद्ध रहन्छन् जसले यिनको भित्र पहिचान कायम रहन्छ।
कुनै पनि परिघटना वा विषयवस्तुको अन्तरवस्तु र बाह्य संरचनाको अवधारणा तिनका विकास र परिवर्तनको द्वन्द्वात्मक चरित्र बुझ्न अत्यावश्यक दार्शनिक अवधारणा हो। बाह्य संरचनाले विषयवस्तुहरूको अन्तरवस्तुको परिवर्तन र विकासलाई उत्प्रेरित गर्छ र त्यसको गतिलाई त्वरित गर्छ भने यस विकास प्रक्रियामा एउटा यस्तो अवस्था आउँछ। जहाँ पुरानो बाहिरी संरचना र अन्तरवस्तुको विकसित अवस्थाबीच पारस्परिक तादात्म्य असन्तुलित हुन पुग्छ र बाह्य संरचना अन्तरवस्तुको अग्रविकासलाई बोधित गर्छ। त्यस अवस्थामा विकसित अन्तर वस्तुसँग पुनः तादात्म्य कायम गर्न यिनको एकत्व भंग हुने अवस्था सृजना हुन्छ र अन्तर वस्तुसँग सादृश्यता कायम गर्न बाह्य संरचना परिवर्तित हुन्छ। उदाहरणका लागि सामाजिक उत्पादन सम्बन्धले उत्पादक शक्तिको विकासलाई उत्प्रेरित गर्छ। तर, जब उत्पादन सम्बन्धहरू र विकसित उत्पादक शक्तिहरूबीचको सन्तुलन गुम्छ। नयाँ उत्पादक शक्तिसँग मेलखाने गरी उत्पादन सम्बन्धमा परिवर्तन हुन्छ र नयाँ उत्पादन सम्बन्धहरू स्थापित हुन्छन्।
७. सार र रूप : कुनै पनि विषयवस्तु तथा परिघटनाको रूप र सार हुनु उनको वस्तुगत सार्वभौमिकता हो। रूप र सार नभएको कुनै पनि विषयवस्तु वा परिघटना हुँदैन। मानिसको ज्ञान विषयवस्तुको बाहिरी रूप भएर उसका सारको विन्यास, स्थापत्य, गुण र उत्पत्तिको कारण तथा अन्तर सम्बन्ध र अन्तरद्वन्द्व तथा परिवर्तनको सामान्य चरित्र आदिको जानकारी प्राप्त गर्ने क्रममा विकसित हुन्छ। सारको ज्ञान नभएसम्म नत हामी सामाजिक घटनाक्रमलाई बुझ्न सक्छौ न प्रकृति विषयवस्तु र घटनाक्रमलाई। उदाहरणका लागि पूँजीवादलाई समाप्त गर्न पूँजीवादी उत्पादन प्रणालीको सार, अर्थात् उत्पादनका साधनमाथि निजी स्वामित्व, उपभोगको व्यक्तिवादी चरित्र, अतिरिक्त श्रमको शोषक आदिको ज्ञान आवश्यक छ भने समाजवादी संरचनाको विकासका लागि उत्पादनका साधनमाथि सामाजिक स्वामित्व, सामूहिक वितरण प्रणाली, वैचारिक तथा सांस्कृतिक परिवर्तनको चरित्र र सार बुझ्न आवश्यक हुन्छ।
८. कारण र परिणाम : सम्पूर्ण विश्व र यसका यावत परिघटनाहरू पारस्परिक अन्तरसम्बन्धहरूको एउटै जटिल प्रणालीमा आबद्ध र गतिमान छन्, जसमा गति र परिवर्तनका ‘कारण र परिणाम’ बीचका अन्तरसम्बन्ध र पारस्परिक क्रिया-प्रतिक्रियाले अहम् भूमिका निर्वाह गर्छन्। तर्क शास्त्रले भन्छ ‘कुनै कारण नभै परिणाम निस्किँदैन’। हरेक विषयवस्तुका बाह्य सम्बन्ध र अन्तर सम्बन्धहरूको कारणले नै यो अथवा त्यो निश्चित परिघटना वा प्रक्रियाले अर्को अवस्थालाई जन्म दिन्छन्। फलस्वरूप परिवर्तन र विकासको अविरल प्रवाहमा एउटा खालको गति अर्कोरूपमा प्रवेश गर्छ। विश्वमा मानवको उत्पत्ति कुनै वस्तु परिघटना अथवा प्रक्रियाहरूको कुनै अव्यवस्थित र आकस्मिक सम्मिलनको कारण नभई, मानवको चेतना र चाहना भन्दा स्वतन्त्र र नियमवद्ध गतिमान प्राकृतिक सम्पूर्णताका बीचका वस्तुगत अन्तरसम्बन्ध र पारस्परिक क्रिया-प्रक्रियाको परिणाम हो र यिनै सम्बन्ध र पारस्परिक क्रिया प्रतिक्रिया परिवर्तन र गतिका कारण हुन्।
९. खास, विशिष्ट र सार्वभौम : प्राकृतिक ‘समष्टि’ आफैमा अभिव्यक्त नभएर यसका अनन्त ‘विशिष्ट’रूपमा अभिव्यक्त भएको छ र यसै विशिष्टताको आधारमा यो बोधगम्य छ। प्रत्येक विशिष्टको सार र त्यसको गुणधर्मिता समष्टिको गुणधर्मिताबाट नियमित र सञ्चालित छ। तर ‘समष्टि’ ‘विशिष्ट’को चरित्र वा गुणधर्मिताबाट निर्दिष्ट र नियमित छैन। सृष्टिको प्रत्येक अवयव र इकाई प्रकृति भित्रै र प्रकृतिको अविभाज्य अंग भए पनि, चाहे त्यो निर्जीव सृष्टि होस अथवा सजीव अथवा मानव र समाज तथा सामाजिक परिघटित हुने कुनै पनि परिघटना, चाहे त्यो सामाजिक क्रान्ति होस् अथवा अन्य घटना, तिनमा निरपेक्ष समानता छैन र समानता हुन सक्दैन। यिनलाई खास, विशिष्ट र सार्वभौमरूपमा बोध गरिन्छ र त्यसै अनुसार यिनका भिन्नता, समानता र सादृश्यताको पहिचान गरिन्छ। कुनै पनि दुई विषयवस्तु वा परिघटनाहरूमा निरपेक्ष समानता छैन। कतै न कतै त्यसमा भिन्नता रहन्छ। त्यस्तै सामाजिक परिवर्तन वा सामाजिक क्रान्ति निरपेक्ष रूपमा समान हुन सक्दैनन्। क्रान्तिकारीहरूले, विशेष गरेर कम्युनिष्ट क्रान्तिकारीहरूले समाजवादी क्रान्ति वा समाजवादमा संक्रमणको प्रक्रियामा यसलाई विशेषरूपमा ध्यान दिनु पर्ने हुन्छ। अन्य देशहरूको अन्धानुकरण गर्ने होइन आफ्नो विशिष्टताअनुसार त्यसको कार्यनीति र दिशा निर्धारण गर्नुपर्छ। किनकि उहीरूपमा त्यसलाई दोहोर्याउन सकिँदैन।
