सुर्खेतमा आईतबारदेखि विद्यालय खुल्दै
सुर्खेत । सुर्खेतमा आईतबारदेखि विद्यालयहरु सञ्चालनमा ल्याईने भएको छ।
कोरोना भाईरस (कोभिड–१९) का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आईतबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।
त्यसका लागि शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको हो।
विद्यालय खुलाउने सम्बन्धमा सम्बन्धीत स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अबस्था हेरिने बताईएको छ।
सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’मा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछन् ।
प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’मा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको हो ।
उनका अनुसार आगामी सातादेखि सबै सामुदायिक संस्थागत विद्यालयहरु खुल्ने छन् ।
