सरकारले शुरु गर्यो बंगलादेशबाट मल ल्याउने प्रकृया
काठमाडौं । सरकारले बंगलादेशबाट युरिया मल ल्याउने निर्णय गरेको छ । बंगलादेशले युरिया मल साप्टी दिने भएपछि विहीबार बसेको मन्त्रीपरिषद्को बैठकले मल ल्याउने अधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए ।
धानका लागि युरिया मलको अभाव भएपछि कृषि मन्त्रालयले बंगलादेश सरकारसँग ५० हजार टन युरिया मल सहयोग अथवा साप्टी दिन आग्रह गरेको थियो । सोही आग्रह वमोजिम त्यहाँका सरकारले साप्टीको रुपमा मल दिने तयार भएपछि सरकारले सो मल ल्याउन कृषि मन्त्रालयलाई प्रकृया शुरु गर्न अधिकार दिएको छ ।
नेपाल सरकारले बंगलादेशबाट मल ल्याएको आठ महिनाभित्र फिर्ता गर्नुपर्ने हुन्छ । कृषि मन्त्रालयका अनुसार भोलिदेखि कृषि सामाग्री कम्पनी लिमिटेडले मल ल्याउने प्रकृया शुरु गर्नेछ । आपूर्तीका लागि बोलपत्र आह्वान गर्नेछ । एक हप्ताभित्र आपूर्तीकर्ता कम्पनी छनौट गरी मल ल्याउने क्रम शुरु गर्ने बताइएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडसँग २५–२५ हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने ठेक्का लिएका शैलुङ इन्टरप्राइजेज प्रा.लि ललितपुर र होनिको मल्टिपल प्रा.लि ले समयमा मल आपूर्ती नगरेको कारण मलको हाहकार छ । त्यो हाहाकारका लागि कम गर्न सरकारले बंगलादेशबाट मल माग गरेको थियो । तर त्यो मल धानका लागि काम नलाग्ने भएको छ । यो युरिय मल गहुँ तथा तरकारी बालीका लागि प्रयोग हुने बताइएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडले निकालेको टेण्डर कबोल गरेका यी दुई कम्पनीसँग पटक पटक मौखिक तथा लिखित रुपमा जानकारी लिएको तर जहिले आलटाल कुरा गरेको थियो । तर गत पुस माघमा टेण्डर हात पारेर कम्पनीहरुले भदौं २० गतेभित्र मल आपूर्ति गरिदिने भनि अनुसार न ल्याएको कारण ती दुवै कम्पनीलाई सरकारले कारवाही गरेको छ ।
सँधैझैँ रसायनिक मलको अभाव नहोस् भनेर गतवर्ष बजेटमा व्यवस्था गरिको ९ अरब रकममा करिब डेढ अरब अतिरिक्त व्यवस्था गरिएको र समयमै टेण्डर खोल्ने व्यवस्था गरिएको थियो । तर एकातिर विश्वव्यापी महामारी र अर्कोतिर रासायनिक मलको आपूर्तिको ठेक्का लिएका कम्पनीहरुको लापरवाहीले गर्दा धान रोपेपछि हाल्नु पर्ने मलको अभाव भएको थियो ।
