काबुलमा गोली लागेर १७ जनाको मृत्यु, ४१ घाइते
अफगानिस्तानमा गोली लागेर कम्तिमा १७ जनाको मृत्यु भएको छ। राजधानी काबुलको एक आपतकालिन अस्पतालका अनुसार गएराति तालिवानले हावामा चलाएको गोली लागेर १७ जनाको मृत्यु भएको र थप ४१ जना घाइते भएका छन्।
शुक्रबार राति करिब ९ बजे अफगानिस्तानको आकाशमा व्यापक रुपमा हावामा गोलाबारी भएको थियो। हावामा गोली चलाएर तालिवानले विजय उत्सव मनाएको हुनसक्ने आशंका गरिएको यहाँको समाचार संस्था तोलो न्युजलाई उदृत गर्दै अलजजिराले उल्लेख गरेको छ। उक्त फाएरिङ किन गरिएको थियो भन्ने वास्तविक कारण भने अझैसम्म खुलिसकेको छैन। यस विषयमा तालिवानले पनि कुनै आधिकारीक प्रतिक्रिया दिएको छैन।
विजय उत्सव मनाउनको लागि हावामा फायर गर्ने अफगानिस्तानको परम्परा मानिन्छ। गत अगस्ट ३१ मा अमेरिकाले पूर्ण रुपमा आफ्ना सेना फिर्ता गरेपछि पनि तालिवानले उत्सवका लागि गोलाबारी गरेको आधिकारिक रुपमा पुष्टि पनि गरेको थियो। पछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्विटरमार्फत मानिसहरुले हवाई फायर गर्नुभन्दा पनि भगवानलाई धन्यवाद दिनुपर्ने बताउँदै हवाई फायरमा प्रतिबन्ध लगाएको बताएका थिए।
