रूकुम पश्चिममा १२ वर्षीया बलात्कृत बालिकाको पेटमा १० साताको गर्भ
रूकुम । रूकुम पश्चिममा बालगृहमा आश्रित एक १२ वर्षीया बालिकाको पेटमा १० साताको गर्भ रहेको खुलासा भएको छ।
आठबिसकोट नगरपालिका–११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी ती बालिका बलात्कारपछि गर्भवती भएको खुलेको हो । आठबीसकोट नगर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट उनको पेटमा १० साताको गर्भ रहेको खुलेको हो।
आफूलाई बालगृह सञ्चालकै छोराले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
पीडित बालिकाले दिएको जाहेरी अनुसार हाल काठमाडौं बस्दै आएका रवि भनिने कुस्माकर चनाराले आफूलाई पटक–पटक बलात्कार गर्दै आएको उल्लेख गरेकी छन्।
२०७७–२०७८ सालको लकडाउनको समयमा रविले आफूमाथि जबरजस्ती करणी गरेको र कतै भनेमा ज्यान मार्ने धम्की दिएकाले केही भन्न नसकेको पीडितको निवेदनमा उल्लेख गरेकी छन्।
रविकै लगातारको बलात्कारले गत असारदेखि आफ्नो महिनावारी बन्द भएको उनले उल्लेख गरेकी छन्।
रवि आठबिसकोट नगरपालिका वडा नं. १० का वडाध्यक्ष गंगाराम चदाराका छोरा हुन्। सिस्ने हिमाल बालगृह रविकी आमा सुनिता चदाराले चलाउँदै आएकी छन्।
