सुर्खेतका ११ जना प्रतिनिधिले राेजे समाजवादी
सुर्खेत । नवगठित एकीकृत समाजवादी पार्टी सुर्खेतमा भने कमजोर देखिएको छ । पार्टीको जिल्ला कमिटीका पदाधिकारीसहित सदस्यको ठूलो हिस्सा एमालेमै छ । जिल्लाबाट निर्वाचित दुवैजना प्रतिनिधिसभा सदस्य र तीनै जना प्रदेशसभा सदस्य एमालेमै छन् ।
यस्तै समाजवादी रोज्ने एमालेका जनप्रतिनिधिको संख्या निकै न्यून छ । सोमवारसम्म सुर्खेतमा ११ जना जनप्रतिनिधिले मात्र नेकपा ९एकीकृत समाजवादी० पार्टी रोजेका छन् । निर्वाचन कार्यालय, कर्णाली प्रदेशका अनुसार ११ जनाले समाजवादी रोजेर सनाखत गरेका छन् ।
समाजवादी रोज्नेहरूमा वीरेन्द्रनगर नगरपालिकाका आठ जना, चौकुने गाउँपालिकाका दुई जना र भेरीगंगा नगरपालिकाका एक जना छन् । सिम्ता, गुर्भाकोट, लेकवेशी, चिङ्गाड, बराहताल र पञ्चपुरीका कसैले पनि सोमवारसम्म समाजवादीतर्फ खुलेका छैनन् । निर्वाचन कार्यालयका शाखा अधिकृत निर्मला रेग्मीका अनुसार समाजवादी रोज्ने ११ जनामा वडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्य छन् ।
सुर्खेतको नौ वटा स्थानीय तहमध्ये तीन वटा पालिकामा प्रमुख र उपप्रमुुख एमालेका छन् भने एउटा नगरपालिकामा उपप्रमुुख एमालेका छन् । सुर्खेतमा कम संख्यामा जनप्रतिनिधिहरूले पार्टी रोजका हुन् । निर्वाचन आयोगले आज मंगलवार सम्म पार्टी रोज्ने समय दिइएको छ ।
