प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरूको नाम
काठमाडौं। सत्तारुढ पाँच दलका शीर्ष नेताहरुबीच बालुवाटारमा बैठक जारी छ। बैठकमा मुख्यतः मन्त्रिपरिषद् विस्तारको विषयलाई प्रमुख एजेन्डा बनाएको बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन्।
बैठकमा मन्त्रिपरिषद्को विस्तारबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका नेताहरूसँग मन्त्रीहरूको नामावली मागेका छन्। उनले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ-आफ्नो पार्टीमा मन्त्रीहरूको नाम टुंग्याउन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्।
पौडेलले भनिन्, ‘प्रधानमन्त्रीले एकदमै ढिलो भइसकेको छ, अब छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्छ। तपाईंहरुले पार्टीमा सल्लाह गरेर मन्त्रीहरू टुंगो लगाउनुस् भन्नुभयो।’ कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए। तर अहिलेसम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन्।
