वैज्ञानिक साम्यवाद : मार्क्सको मौलिक देन
मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक साम्यवादको सिद्धान्त कुनै कोरा काल्पनिक अवधारणा होइन, बल्की मानव समाजको क्रमिक विकासका चरण र चरित्र, त्यसको निरन्तर गतिको कारण र दिशा तथा परिणाम आदिको ठोस वैज्ञानिक विश्लेषण र वर्गीय समाजमा वर्गसंघर्षको वस्तुगतता र ऐतिहासिक विकासका चरित्रको विवेचन, विश्लेषण र संश्लेषणको आधारमा सामाजिक गतिका दिशाको तार्किक परिणामको आधारमा निकालिएको ठोस निष्कर्ष हो।
वर्गीय समाजको उत्पादन प्रणालीमा विद्यमान रहने सामाजिक वर्गविभाजनको अवस्थामा शासक वर्गले तलदेखि माथिसम्मका सम्पूर्ण सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्धहरू आफू अनुकूल स्थापित गरेको हुन्छ र त्यसको जगमा नै समाजको सम्पूर्ण जीवन प्रणाली कायम रहन्छ। सामाजिक सम्बन्धहरू प्रमुख रूपमा दुई किसिमका हुन्छन्- भौतिक सम्बन्ध र वैचारिक सम्बन्ध। भौतिक सम्बन्धहरूको प्रमुख पक्ष वर्गहरूबीचको आर्थिक सम्बन्ध हो, जो सामाजिक उत्पादन प्रणाली र उत्पादन सम्बन्धको आधारमा स्थापित हुन्छ र समाजको आर्थिक विभाजनको कारण हुन्छ।
प्रत्येक उत्पादन प्रणालीमा भौतिक सम्बन्धहरू अन्तर्गत वर्गहरू केही निश्चित आर्थिक सम्बन्धहरूसँग जोडिएका हुन्छन् र प्रत्येक उत्पादन प्रणालीमा स्थापित हुने यिनै आर्थिक सम्बन्धहरूबाट सामाजिक वर्गीय संरचना र सामाजिक ढाँचा निर्माण हुन्छ। यिनै सम्बन्धहरूमा टेकेर शासक वर्गले शासित वर्गमाथि शासन गर्ने र तिनको आर्थिक शोषण गर्ने आधार निर्माण गर्छन्।
आर्थिक शोषणले नै वर्गीय समाजमा वर्गसंघर्षको आर्थिक आधार तयार गर्छ र वर्गसंघर्षको मुख्य कारण बन्दछ। वैचारिक सम्बन्ध प्रत्येक सामाजिक-आर्थिक संरचनाका भौतिक सम्बन्धकै अनुरूप स्थापित हुने राजनैतिक, धार्मिक, संस्कार र संस्कृतिगत अन्य सम्बन्धहरू हुन्। आर्थिक विभाजन र आर्थिक शोषण राज्यसत्ताको वर्गीय चरित्रबाट निःसृत हुने हुँदा आर्थिक विषमता विरुद्ध शोषित वर्गको संघर्ष आर्थिक संघर्षको अवस्थाबाट सुरु हुन्छ। तर, सधैँ आर्थिक संघर्षको सीमाभित्र मात्र सीमित रहँदैन। कालान्तरमा यो संघर्ष शोषक वर्गको राज्यसत्तासँग टकराउने हुँदा अन्ततः शोषक वर्ग र शोषित वर्गबीच राजनैतिक संघर्षको रूपमा परिणीत हुन्छ, जसको लक्ष्य शोषक वर्गको राज्यसत्ता समाप्त गर्ने हुन्छ। यो राजनैतिक संघर्ष नै वर्गसंघर्षको घनीभूत र उच्चतम रूप हो र समाज परिवर्तनको प्रमुख कारण हो।
आर्थिक शोषणले नै वर्गीय समाजमा वर्गसंघर्षको आर्थिक आधार तयार गर्छ र वर्गसंघर्षको मुख्य कारण बन्दछ। वैचारिक सम्बन्ध प्रत्येक सामाजिक-आर्थिक संरचनाका भौतिक सम्बन्धकै अनुरूप स्थापित हुने राजनैतिक, धार्मिक, संस्कार र संस्कृतिगत अन्य सम्बन्धहरू हुन्। आर्थिक विभाजन र आर्थिक शोषण राज्यसत्ताको वर्गीय चरित्रबाट निःसृत हुने हुँदा आर्थिक विषमता विरुद्ध शोषित वर्गको संघर्ष आर्थिक संघर्षको अवस्थाबाट सुरु हुन्छ। तर, सधैँ आर्थिक संघर्षको सीमाभित्र मात्र सीमित रहँदैन। कालान्तरमा यो संघर्ष शोषक वर्गको राज्यसत्तासँग टकराउने हुँदा अन्ततः शोषक वर्ग र शोषित वर्गबीच राजनैतिक संघर्षको रूपमा परिणीत हुन्छ, जसको लक्ष्य शोषक वर्गको राज्यसत्ता समाप्त गर्ने हुन्छ। यो राजनैतिक संघर्ष नै वर्गसंघर्षको घनीभूत र उच्चतम रूप हो र समाज परिवर्तनको प्रमुख कारण हो।
समाजलाई वर्गीय शोषण र वर्गीय विभाजनको अवस्थाबाट मुक्त गर्न पहिलो आवश्यकता यस विभाजन र शोषणको मूलकारण उत्पादन सम्बन्ध तथा त्यसको संरक्षक राज्यसत्ता समाप्त गर्नु हो। यस वर्गसंघर्षमा पहिलो तगारो राज्यसत्ता हुने हुँदा आर्थिक संघर्ष राजनैतिक संघर्षको चरणमा प्रवेश गरेपछि अनिवार्यरूपमा राज्यसत्तासँग टकराउन पुग्छ। राजनैतिक संघर्षको सफलताका लागि संगठित राजनैतिक शक्ति, वैचारिक हतियार र लक्ष चाहिन्छ। मार्क्सले हजारौं वर्षदेखि चल्दै आएको यस शोषणबाट शोषित वर्गलाई मुक्ति गरी वर्ग र वर्गीय शोषण विहीन समतामूलक समाजको निर्माण गर्न संगठित श्रमजीवी वर्गलाई स्पष्ट वैज्ञानिक वैचारिक हतियार र वैज्ञानिक साम्यवादी समाज निर्माणको लक्ष प्रस्तुत गरे।
सामाजिक असमानता, शोषण र विभेदको अन्त गर्नु पर्ने विषयमा मार्क्सका पूर्ववर्ती अनेकौं काल्पनिक समाजवादी, समाज सुधारक, समाजशास्त्री, दार्शनिक आदिले भन्दै आएका हुन् र सद्उपदेशहरूबाट, धर्म र मानवताको नाममा, ईश्वर र परलोकको नाममा, सबै ईश्वरीय सन्तान हुन् विभेद हुनहुन्न भन्ने आदि नाममा मानव-मानवबीच समानता हुनु पर्ने विषयमा बोल्दै र लेख्दै आएका हुन्। तर, शोषण र विभेदको मूलकारण सामाजिक उत्पादनका साधन स्रोतमाथिको निजी स्वामित्व र त्यसबाट सृजना हुने ‘उत्पादनको सामाजिक चरित्र र व्यक्तिगत उपभोग’को विभेद पूर्ण अवस्थाले सृजना गर्ने विभेदकारी उत्पादन सम्बन्ध भएको र यस सामाजिक विभेद र शोषणको अवस्थालाई समाप्त गर्न त्यस मूल कारणलाई नै समाप्त गर्नुपर्छ भन्ने कुरा ती चिन्तकहरूले किटानीसाथ ठम्याउन सकेनन् र त्यसका उन्मुलनको सही बाटो निर्देशित गर्न सकेका थिएनन्।
युरोपमा मार्क्सभन्दा पहिलेका आन्नाबापटिष्ट, मौन्झेर, ग्राकस बन्धु, ट्र्यू डिगर आदिको नेतृत्वमा भएका किसान आन्दोलनहरूले शोषण र विभेदको अन्तका लागि निजी सम्पत्तिको उन्मूलन गर्नु पर्ने नारा अगाडि सारेका हुन्। कतिपय ठाउँमा कम्युन पनि स्थापित गरे। तर, ती सब दबाइए। सेन्ट सेमोन, फ्यूरर, ओन, जस्ता चिन्तकहरूले वर्गीय शोषणबाट मुक्तिका लागि सामूहिक स्वामित्वमा जोड दिँदै आफ्नो निजी प्रयासमा कम्युनहरू स्थापित गरी वर्गीय शोषण विहीन समाज निर्माणका प्रयास गरेका हुन।
तर, सफल हुन सकेनन्। भारतीय चिन्तन परम्परामा ‘सर्वजन हिताय, सर्बजन सुखाय’ समाजको निर्माण र मानव-मानवबीच समानता र पारस्परिक सम्मानको अवस्था निर्माण गर्ने विषयमा अनेकौं चिन्तकहरूले उपदेश गरेकै हुन्। स्मिथ, रिकार्डो आदि जस्ता अर्थशास्त्रीहरूले, जसको अनुसन्धानमा टेकेर मार्क्सले आफ्नो आर्थिक सिद्धान्त प्रतिपादित गरे, पूँजीवादी उत्पादन प्रणाली र शोषणको व्याख्या गरेका हुन्। तर, सामाजिक शोषण, दमन, विभेद र विभाजनको मूल कारण वर्गीय राज्यसत्ताको उत्पादन प्रणालीमा उत्पादनका साधन स्रोतमाथि शोषक वर्गको स्वामित्व रहने परिपाटी हो र यसको उन्मूलन गर्नु पूँजीवादको नै अन्त गर्नुपर्ने निष्कर्षमा पुग्न सकेका थिएनन्।
मार्क्सले इतिहासको गहन विश्लेषणबाट उत्पादनका साधनमाथि निजी स्वामित्वका उन्मुलनको संघर्ष सत्ताधारी शोषक वर्गको स्वार्थसँग टकराउने हुँदा यो संघर्ष सोझै त्यसको राज्यसत्तासँग जोडिन पुग्छ। अतः बुर्जुवा शोषक वर्गको वर्तमान राज्यसत्ता समाप्त नगरेसम्म वर्गीय शोषण र त्यसको मूलकारण उत्पादनका साधनमाथिको निजी स्वामित्व समाप्त गर्न सकिँदैन। त्यसकारण सर्वहारा वर्गले सर्वप्रथम बुर्जुवा वर्गको राज्यसत्ता समाप्त गरी त्यससँगै निजी स्वामित्वलाई समेत समाप्त गर्नु पर्छ। तब मात्र समाजलाई वर्गीय विभाजन र मानवद्वारा मानवका शोषणको परिपाटी समाप्त गरी नयाँ सामाजिक-आर्थिक संरचना स्थापित गर्न सकिने छ। र, वर्गसंघर्षको वर्तमान चरणमा यस्ता परिवर्तनको लागि गरिने संघर्षको नेतृत्व वर्तमान सर्वहारा वर्गले गर्ने छ।
यो वर्गसंघर्षको नियमितता र सामाजिक अपरिहार्यताको परिणाम हुने छ। यसका लागि सर्वप्रथम श्रमजीवी वर्गले राज्यसत्ता आफ्नो हातमा लिनु पर्दछ र उत्पादनका साधन स्रोतमाथिको निजी स्वामित्वको अवस्था समाप्त गरी सामूहिक स्वामित्व कायम गर्नुपर्छ। सामूहिक स्वामित्वको जगमा निर्माण गरिने वर्गीय विभाजन र वर्गीय शोषण विहीन सामाजिक-आर्थिक संरचना र त्यसको नागरिक व्यवस्थापनको अवस्था नै समाजको वैज्ञानिक साम्यवादी अवस्था हुने छ। यो नै मार्क्सद्वारा प्रतिपादित वैज्ञानिक साम्यवादका सिद्धान्तको सार र निचोड हो।
मार्क्सलाई यस निचोडमा पुग्न एकतर्फ युरोपेली भू-भागमा विगतमा भएका दाश र दाश मालिक, पाट्रिसियन र प्लेवियन, (उच्च कुलीनहरू र जनसाधारण), लौर्ड (भूस्वामी सामन्त) र सर्फ (भूदास), गिल्डमाष्टर (ज्यासल मालिक) र तिनक ज्यालादारी कामदार (जर्नीमैन) बीचका वर्गसंघर्षदेखि सामन्ती व्यवस्थामा भूस्वामी सामन्त तथा भू-दाश र बँधुवा कृषक तथा पूँजीवादी व्यवस्थामा सर्वहारा वर्ग र पूँजीपति वर्गबीचको निरन्तर संघर्षको गहन विश्लेषण गर्दै समाज परिवर्तनको मुख्य परिवर्तनकारी अग्रगामी क्रान्तिकारी शक्ति तत्तत् चरणको शोषित श्रमिक वर्ग रहेको ऐतिहासिक तथ्यहरूले ठोस सामाजिक आधार प्रदान गरेको थियो भने अर्कोतर्फ युरोपमा सामन्तवाद विरोधी पूँजीवादी क्रान्ति र त्यसपछि पूँजीवादको विकासको पृष्ठभूमिमा सर्वहारा वर्गको जन्म, पूँजीको शोषणविरुद्ध सर्वहारा वर्गका बढ्दो क्रान्तिकारी सक्रियता र सहभागिताको गहिरो अध्ययन र श्रम र पूँजीबीचका अन्तर्द्वन्द्वको गहन विश्लेषणले वैज्ञानिक आधार प्रस्तुत गरेको थियो।
सामन्तवाद विरोधी क्रान्तिपछि पूँजीपति वर्गद्वारा राज्य सत्ता कब्जा र त्यसको बलमा सर्वहारा वर्गको चरम शोषण, सर्वहारा वर्गको झन्झन् बिग्रिँदो आर्थिक अवस्था र यस अवस्थाविरुद्ध आफ्नो आर्थिक मुक्तिका लागि निरन्तरको संघर्ष, यस संघर्षमा विभिन्न श्रमसंगठनहरूबीच दिनप्रतिदिन बढ्दो एकता र संयुक्त संघर्षको विकास तथा सर्वहारा एउटा सामाजिक स्वतन्त्र वर्गको रूपमा स्थापित र संगठित भैसकेको अवस्थाले पूँजीवादी व्यवस्थाको अन्तका लागि यो सर्वोपरि संगठित र क्रान्तिकारी अग्रणी दस्ता हो।
जसले वर्गीय शोषणको अवस्था सधैँका लागि समाप्त गरी वर्गीय शोषण विहीन साम्यवादी व्यवस्था स्थापित गर्ने छ भन्ने निष्कर्षमा पुग्न मार्क्सलाई ठोस वैज्ञानिक आधार प्रस्तुत गरेको थियो। किनकि आधारभूत साधन र श्रोतबाट वञ्चित सर्वहारा वर्गसँग ‘गुमाउनु पर्ने केही थिएन र जित्नलाई संसार’ थियो।
वर्गीय समाजमा वर्गसंघर्ष त्यस संरचनाको अन्तर्निहित चरित्र हो। वर्गीय शोषण विहीन वर्ग विभाजित समाजको परिकल्पना गर्न सकिँदैन। अतः वर्गीय शोषण विहीन समाज निर्माणको लागि वर्गीय समाजको आर्थिक आधार समाप्त गर्नु अपरिहार्य आवश्यकता हो। सामाजिक वैभवको प्रमुख उत्पादक शक्ति श्रमजीवी वर्ग नै हो, चाहे त्यो दाशको रूपमा होस् अथवा भू-दाश वा बँधुवा कृषक वा आजको श्रमिक वर्ग।
तर समृद्धिको निर्माता यो वर्ग इतिहासभरि शोषित वर्गकै रूपमा रहेको छ र शासक वर्गबाट सघै शोषित छ। यद्यपि शोषणका रूप र श्रमिक वर्गको अवस्थामा क्रमिक परिवर्तन भएका छन्। तर, श्रमले शोषणबाट मुक्ति पाएको छैन। जबसम्म वर्गीय समाजमा विभेदकारी उत्पादन प्रणाली कायम रहने छ, श्रमिक वर्गको मुक्ति सम्भव छैन। यसको अन्त र सामाजिक विभेद र मानवद्वारा मानवको शोषणको अन्त गरी समतामूलक, न्यायिक र श्रमप्रधान समाजको निर्माणका लागि वर्तमान पूँजीवादी सामाजिक-आर्थिक संरचनाको अन्त गर्नु पहिलो आवश्यकता हो भन्ने मार्क्सको निष्कर्ष हो।
निरंकुश एकतन्त्रीय सामन्ती संरचनाको निषेध गरी पूँजीवादी संरचनामा संक्रमण मानव समाजको लागि एउटा प्रगतिशील अग्रगामी परिघटना थियो, जसले यो अथवा त्यो रूपका हुकुमी शासन व्यवस्थाको युग समाप्त गरी आम जनतामा नागरिक स्वतन्त्रतासहित कानूनी राज्यको अवधारणा स्थापित गर्यो। तर, यसका साथै पूँजीवादले श्रम र ज्यालाका सम्बन्ध स्थापित गरी श्रमलाई पूँजीको दाश्वत्वमा जकडेर शोषणको नयाँ परिपाटी स्थापित गर्नुका साथै श्रमलाई पूँजीको अस्तित्व र विकासका लागि त्यसको अविभाज्य अंग र मुख्य साधनमा परिणीत गरी श्रममाथि पूँजीको दासत्व कायम गर्यो। परिणाम स्वरूप मानव श्रम समाजको संस्कृति नभई बजारमा बिक्री हुने ‘माल’मा परिणीत हुन पुग्यो।
यो सत्य हो, आज पूँजीवादले जीवनको प्रत्येक क्षेत्रमा अनेकौं महान् सफलता प्राप्त गरेको छ। तर, यसका साथै पूँजीपति वर्गको बढिभन्दा बढी नफा कमाउने अनियन्त्रित भोकले गर्दा एकतर्फ मानव श्रमको अमानवीय शोषण गरिँदै छ, भने अर्कोतर्फ पूँजी तथा उत्पादनको अतिकेन्द्रीकरण, प्राकृतिक सन्तुलन नै खलबलिने र वातावरणीय संकटलाई निम्त्याउने गरी प्राकृतिक श्रोत साधनको अनियन्त्रित दोहन, अन्य देशका प्रकृति स्रोतहरूमाथि कब्जा जमाउन शक्तिको बलमा ती देशहरूमाथि कब्जा जमाउन आदि जस्ता साम्राज्यवादी क्रियाकलापहरूले मानव सभ्यतालाई नै खतरामा पारिरहेको परिदृश्य सबैको सामु छ।
यसका साथै विश्वमा आफ्नो आर्थिक र सामरिक दबदबा कायम गर्न मानव सभ्यतालाई नै ध्वस्त गर्न सक्ने गरी नाभिकीयदेखि जैविक र रासायनिक नरसंहारका हतियारको निर्माण, व्यापार युद्ध र क्षेत्रीय युद्ध आदि जस्ता गतिविधिहरूले विश्वमाथि नयाँ संकटको अवस्था सृजना गरेको छ। आज यस खतराबाट विश्वलाई जोगाउन र पूँजीवादको वर्तमान विनाशकारी रूपलाई समाप्त गरी पूर्ण स्वतन्त्रता, मानवतावाद, सामाजिक आर्थिक समानता, शोषण र विभेदको अन्त र न्यायिक र जनकल्याणकारी समाजको निर्माणका लागि संघर्ष मानव सभ्यताको भविष्यसँग जोडिन पुगेको छ।
अहिले यसका लागि आम श्रमजीवी वर्ग मात्र होइन गैर सर्वहारा मानवतावादी शक्तिहरू समेत समाजका विभिन्न फाँटबाट संघर्ष गर्दै नयाँ विकल्पको खोजी गर्दै छन्। यसले स्पष्ट संकेत गरेको छ। मानव नयाँ चेतना, नयाँ साधन श्रोत र सामाजिक उपलब्धि सहित वर्तमान साम्राज्यवादी पूँजीवादलाई समाप्त गरी मानव जातिको भविष्य सुनिश्चित गर्न मार्क्सले परिकल्पना गरेको साम्यवादी व्यवस्थामा निश्चित रूपले प्रवेश गर्ने छ।
त्यसको स्वरूप वा संक्रमणको बाटो र समय जे भए पनि त्यसको सार न्यायिक र समतामूलक तथा वर्गीय आधिपत्य र शोषण विहीन मानवतावादी समाज हुने छ। र, यो मार्क्सका साम्यवादी प्रस्थापनाको अभिव्यक्त रूप हुने छ। मार्क्सका वैज्ञानिक समाजवादको परिकल्पनालाई अमूर्त कल्पनाको रूपमा होइन जीवनको यसै यथार्थमा बुझ्नु पर्छ। याे सामाग्री हामीले लाेकपाटीबाट लिएका हाैँ ।
