एमसिसी पास गर्नु विष पिउनुसरह हो : प्रेम सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसिसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष पिउनुसरह’ हुने टिप्पणी गरेका छन्।
नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे।
नेपाल भ्रमणमा आएकी एमसिसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरि कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए।
सांसद सुवालले भने, ‘अमेरिकी साम्राज्यवादले संसारलाई दुःख दिने कुरा संसारका सबै जनतालाई थाहा भएकै कुरा हो। यो यथार्थता नेपाली जनताले पनि बुझिसकेका छन। यो संघीय संसदका सबै माननीयहरु दुविधामा पर्नु आवश्यक छैन’
सांसद सुवालले अगाडि थपे, ‘बूढो बाघले शिकार गर्न नसकेपछि चुरा देखाउने र झम्टने कथा हामी सबैलाई थाहा छ। विष भनि थाहा पाईकन खाए के हुन्छ? एमसिसी त्यही हो। अमेरिकी अधिकारीहरुले सयथरि कुरा गर्दै छन्। हामी उनीहरुका सयथरि कुरामा फस्नु हुन्न।’
सांसद सुवालले राष्ट्रघाती एमसिसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे।
