बजेट खर्चको स्रोत : राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड, वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यहोरिने
अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
शुक्रवार प्रतिनिधि सभामा अध्यादेशमार्फत आएको बजेटको प्रतिस्थापन विधेयकमा उनले सो बजेट विनियोजन गरेका छन् ।
विनियोजित बजेटमध्ये संघले खर्च गर्ने चालु तर्फ रू. ६ खर्ब ७७ अर्ब ९९ करोड अर्थात ४१.५२ प्रतिशत, पुँजीगत तर्फ रू. ३ खर्ब ७८ अर्ब १० करोड अर्थात २३.१६ प्रतिशत, वित्तीय व्यवस्था तर्फ रू. १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६० प्रतिशत विनियोजन गरिएको छ ।
यस्तै प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रू. ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत रहेकोछ।
वित्तीय हस्तान्तरण तर्फ विनियोजित बजेटमध्ये चालु खर्चमा समानीकरण अनुदान सहित ३ खर्ब २५ अर्ब ७५ करोड रुपैयाँ अर्थात ८४.११ प्रतिशत र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड रुपैयाँ अर्थात १५८९ प्रतिशत रहको छ।
चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट रू. ५९ अर्ब ९२ करोड व्यहोरिने प्रतिस्थापन विधेयकमा उल्लेख छ ।
चालु, पुँजीगत र वित्तीय हस्तान्तरण तर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा रू. ५ खर्ब २२ अर्ब ९ करोड न्यून हुने देखिन्छ।
वित्तीय व्यवस्था तर्फको विनियोजित रकम समेत समावेश गर्दा कुल विनियोजनमा न्यून हुने रकम मध्ये वैदेशिक ऋणबाट रू. २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋणबाट रू. २ खर्ब ३९ अर्ब व्यहोरिने अर्थमन्त्री शर्माले जनाएका छन् ।
