एकीकृत समाजवादीले पायो ६ प्रदेशमा दलको मान्यता
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यहरूले शुक्रवारदेखि नयाँ दलीय हैसियत पाएका छन्। अब प्रदेशसभा सचिवालयले उनीहरूलाई अलग संसदीय दलको मान्यता र सुविधासमेत दिनुपर्नेछ। प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एसका ६ वटा प्रदेशमा नेता चयन हुने भएका छन्।
गण्डकीमा भने नेकपा एसको एक जना पनि सांसद नभएकाले त्यहाँ उक्त पार्टीको अस्तित्व रहने छैन। सुदूरपश्चिम प्रदेशसभामा नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ। १४ सांसदसहित ठूलो दल बनेको हुनाले अन्य प्रदेशमा भन्दा त्यहाँ दलको नेता चयनमा पनि प्रतिस्पर्धा छ। दलको नेताका लागि तारा लामा तामाङ, दीर्घ सोडारी, माया भट्ट र पूर्णा जोशीले दाबी गरे पनि सन्तुलनको हिसाबले तामाङलाई दलको नेता बनाउने तयारी नेकपा एसको छ।
कञ्चनपुरबाट निर्वाचित लामा अन्तिम समयमा थप सांसदसहित नेकपा एसमा सनाखत गर्न गएका थिए। उनी साबिक एमालेको जेठ २ अघिको कञ्चनपुर जिल्ला अध्यक्ष छाडेर नेकपा एसमा लागेका कारण पनि उनलाई दलको नेता बनाउने बताइएको छ। कर्णाली प्रदेशमा नेकपा एसका जम्मा तीन जना सांसद छन्। केन्द्रीय सदस्य समेत रहेकाले चन्द्रबहादुर शाही नेकपा एसको संसदीय दलको नेता बन्ने भएका छन्।
कर्णाली प्रदेशमा नेकपा एसका जम्मा तीन जना सांसद छन्। केन्द्रीय सदस्य समेत रहेकाले चन्द्रबहादुर शाही नेकपा एसको संसदीय दलको नेता बन्ने भएका छन्।
प्रकाश ज्वालाको सांसद पद अदालतबाट अन्तरिम आदेशमार्फत खारेज भएकाले शाहीले नेतृत्व गर्नेछन्। लुम्बिनीमा नेकपा एसका एक जनामात्र सांसद रमा घर्ती छन्। त्यसैले त्यहाँ उनी स्वतः दलको नेता हुनेछिन्। बागमतीमा नेकपा एसका १३ जना सांसद छन्। ती मध्ये सबैभन्दा सिनियर भएका कारण राजेन्द्र पाण्डे सर्वसम्मत दलको नेता चयन हुने भएका छन्। उनी अष्टलक्ष्मी शाक्यलाई हटाएर मुख्यमन्त्री बन्ने तयारीमा समेत छन्। प्रदेश-२ मा नेकपा एसका १३जना सांसद छन्।
दलको नेता यसअघि पनि सत्रुघन महतो रहेकाले उनले नै निरन्तरता पाउने सम्भावना रहेको प्रदेशसभा सदस्य मञ्जु यादवले बताइन्। प्रदेश-२ मा नेकपा एस २ मन्त्रीसहित सरकारमा जाने तयारीमा समेत छ। महतो आफैं सरकारमा जान चाहन्छन्। प्रदेश-१ मा नेकपा एसका १० जना सांसद छन्। दलको नेतामा प्रतिस्पर्धा नभएको र सर्वसम्मत रूपमै राजेन्द्र राईलाई चयन गर्ने सम्भावना रहेको केन्द्रीय सदस्य तथा सांसद राजन राईले बताए।
अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका राई माधव नेपाल पक्षका प्रदेश-१ का अहिले सिनियर नेता हुन्। उनी दलको नेता हुनासाथ भीम आचार्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी छ। राईलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन अन्य दलसँग पनि छलफल भइरहेको बताइएको छ।
