बाह्य शक्तिको स्वार्थका पृष्ठपोषकहरू एमसीसी पास गर्न लागिपरेका छन् : रावल
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नगरी अघि बढाउनु राष्ट्रघात हुने बताएका छन्। उनले एमसीसी सम्झौतालाई यथास्थितिमा अघि बढाउनु नहुने बताएका छन्।
एमसीसीमा रहेका केही प्रावधानलाई संशोधन नगरी अघि बढाउन नहुने बताएका छन्। रावलले बाह्य शक्तिको स्वार्थमा प्रयोग हुने नेताहरू राष्ट्रभक्ति सुन्नेसाथ उत्तेजित हुने गरेको पनि बताए। बाह्य शक्तिको प्रभावमा रहेका नेताहरूले राष्ट्रिय हितलाई महत्त्व नदिने उनको भनाई छ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘बाह्य शक्तिको स्वार्थका पृष्ठपोषकहरू राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको कुरा सुन्नासाथ उत्तेजित हुन्छन्। उपनिवेश वा बाह्य शक्तिको हस्तक्षेपमा रहेका देश, सरकार र नेताले मात्र राष्ट्रिय हितका कुरा गर्दैनन् अरूले गर्छन्। एमसीसी सम्झौता यथावत् अनुमोदन गर्नु राष्ट्रघात हुन्छ।’

