प्रचण्डले भने जुटेर नयाँ विचार र कार्यदिशा खोजी गरौं
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनलाई बीचैमा छाडेर हिँड्न मन नभएको बताएका छन्। माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रममा आइतवार प्रचण्डले आन्दोलनको अन्तिमसम्म रहने मन नभएको पनि बताए।
‘तपाईँहरु युवा साथीहरु हुनुहुन्छ। हामीलाई लास्टसम्म नेतृत्वमा रहने रहर पनि छैन,’ उनले अगाडि भने, ‘तर, फेरि यो आन्दोलनलाई बिचमै छाडेर जाने मन पनि छैन। आन्दोलनलाई निष्कर्षमा पुर्याउने कुरा सोच्नु कुर्सी छाड्न नचाहेको भन्ने त होइन नि ?’ उनले आन्दोलनलाई अगाडि बढाउने क्रममा आफू एक्लो पो हुने हो कि भन्ने चिन्तासमेत रहेको बताए।
‘आफ्नै पार्टीभित्र माओली एक्लै छु भन्ने फिल गरेछन्,’ प्रचण्डले भने, ‘कहिलेकाँही त्यस्तै हुँदोरहेछ। सायद अब १/२ वर्षपछि म पनि एक्लो हुने हुँ कि। माओले जस्तै एक्लो छु भन्नुपर्ने हो कि ? कहिलेकाहिँ त्यस्तो चित्र पनि दिमागमा आउँछ।’ प्रचण्डले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेसँग देशलाई समाजवादतिर लैजानका लागि एकता गरिएको पनि बताए।
तर आफ्नो उद्धेश्यविपरीत ओली दक्षिणपन्थी धारतिर अघि बढेपछि एकता बीचमै भंग हुन पुगेको पनि उनले बताए। ‘हामीले क्रान्ति के हो बुझेका छैनौं। अहिले भनिएको छ, कम्युनिष्ट पार्टीको औचित्य सिद्धियो। तर त्यसो भन्दा हामीले सकी नसकी खण्डन गरेका छौं,’ उनले भने, ‘मार्क्सवाद र कम्युनिष्ट पार्टीलाई विकसित र परिमार्जित गर्नुपर्छ। तर कम्युनिष्ट पार्टीको काम छैन भन्ने कुरा असत्य हो।’
अध्यक्ष प्रचण्डले अरु सबै खराब आफू मात्रै ठीक भन्नेहरुले उपदेश दिने गरेको पनि बताए। ‘अरु सबै खराब म चाहिँ ठिक भनेर उपदेश दिने धेरै भए। मार्क्सवादमा धेरै सत्य छन् तर विद्रोह जनताको अधिकार हो भन्ने कुरा मुख्य हो,’ उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा भएका बलिदानका कीर्तिमानलाई सम्मान गर्न र नाम लिन डराउनेहरु अझै पनि यहाँ रहेछन्।’
उनले त्यत्रो वर्ष जनयुद्ध गरेको आएको आफ्नै नाम लिन पनि नसक्नेहरु अझै यो समाजमा रहेको भन्दै गुनासो गरे। ‘अहिले पनि माओवादीको नाम लिन मान्दा रहनेछन्। प्रचण्डको त नाम आउँछ जस्तो गर्दा रहेछन्,’ उनले भने, ‘नेपालको कम्युनिष्ट इतिहासमा भएका कुराहरुलाई समेट्ने क्रममा यो पुस्तकका लेखक परशुराम तामाङले सबैको नाम उल्लेख गर्नु भएको छ। तर अझै पनि केही मानिसहरु हाम्रो नाम लिन नसक्दा रहेछन्।’
उनले तत्कालीन एमालेसँग एकता गर्दा आफूले जोखिम मोलेको बताए। ‘समाजवादमा जाने गरी नेकपा एकीकरण गरेर जोखिम उठाएकै हो,’ उनले भने, ‘गठबन्धन बैठकमा मलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर सोधिरहन्छन्। ज्ञान प्राप्त गरेर आएँ भनेको छु। यो ज्ञान सजिलै प्राप्त गर्ने कुरा थिएन। ओलीसँग एकता गरेर मात्रै प्राप्त हुने थियो। प्रचण्डको यही ज्ञानले गर्दा वाम-लोकतान्त्रिक गठबन्धन बनेको हो।’
प्रचण्डले २१ औं शताब्दीको समाजवादको मोडेलको खोजी गरिरहेकाहरू एकै ठाउँमा आउन जरुरी रहेको पनि बताए। ‘२१ औं शताब्दीको वैज्ञानिक समाजवादको मोडल के हुन्छ भनेर खोज्नेहरू एक ठाउँमा आउन जरुरी छ,’ उनले भने, ‘यसको प्रयास पनि भइरहेको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसमेत सहभागी कार्यक्रममा प्रचण्डले अगाडि भने, ‘एक चरण विभाजित भएर हेरियो। त्यसरी लछारपाटो केही पनि लाग्नेवाला छैन। त्यस कारण फेरि एक ठाउँमा आएर हेरम्।’
