नेपालमा कम्युनिष्टहरु व्यक्तिवादमा फस्ने गरेको माधवको टिप्पणी !
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीहरूमा विदेशीसँग लम्पसार पर्ने चरित्र रहेको बताएका छन्। माओवादी केन्द्रका नेता परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रममा आइतबार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनमाका विकृति अन्त्य गर्न क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास हुनुपर्नेमा पनि जोड दिएका छन्।
‘नेपालका कम्युनिस्ट पार्टीहरू विदेशीसामु लम्पसार पर्ने गरेका छन्। व्यक्तिवादमा फस्ने गरेका छन्,’ उनले भने, ‘कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकार देखिएकाले यसलाई चिर्न जरुरी छ। यस्ता समस्या हटाउन कम्युनिस्टहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नु जरुरी भइसकेको छ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्ताबेजलाई विकसित गर्नुपर्ने बताए। ‘समाजवादको रक्षा मान्छेले मात्रै गर्छ, हतियार र पुँजीले गर्दैन,’ कार्कीले भने, ‘समाजवादमा पुग्न माओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनवाद नामक दस्ताबेजलाई विकसित गरेर अघि बढ्नुपर्छ।’
