को–को बन्दैछन् एकीकृत समाजवादीबाट उपसभामुख र मन्त्री ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्तरिक रुपमा सरकारमा जाने मन्त्रीहरुको टुङ्गो लगाएको छ । तर त्यसलाई भने अन्तिम रुप दिन बाँकी रहेको छ । एमाले विभााजन भएर ९ भदौमा एकीकृत समाजवादीको मान्यता पाएपछि सरकारमा सहभागी हुन तयार रहेको हो ।
निर्वाचन आयोगले एकीकृत समाजवादी दलको मान्यता दिए पनि एमालेमा रहेका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिलाई २२ भदौसम्म दल रोज्न पाउने व्यवस्था गरेको थियो । उक्त समय सकिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेहरुको सुचि तयार पारेको हो ।
स्रोतका अनुसार एक दुई दिन भित्रै एकीकृत समाजवादीका तर्फबाट प्रधानमन्त्रीलाई मन्त्री बन्नेको नाम बुझाउने तयारी गरेको छ । शुक्रबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा पनि प्रधानमन्त्रीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मागेका थिए
। सरकार बनेको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । एकीकृत समाजवादीले सरकारमा सबै युवा पठाउने तयारी गरेको छ । एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादी पहिलो पटक सरकारमा सामेल हँुदै छ ।
दोस्रो तहका नेताहरुले अन्तिम धोका दिएपछि पहिलो पुस्ताका केहि र तेस्रो पुस्ताका नेताहरु बढी छन् । तेस्रो पुस्ताले अहिले सरकारमा सहभागी भएर उदाहरणिय काम गर्नु छ भने उता भरखर निमार्ण भएको पार्टीलाई जनस्तरमा पनि लैजानुपर्ने अवस्था छ ।चुनौतिकाबीच अवसरसहित एकीकृत समाजवादीका युवा नेताहरु सरकारमा सामेल हँुदै छन् । जसमा सकेसम्म समावेशी र प्रदेशको पनि प्रतिनिधित्व हुने गरी सरकारमा पठाउने तयारी गरेको स्रोतले बतायो ।
सत्ता गठबन्धनमा कुन मन्त्रालय कसले लिने भन्ने बारेमा निर्णय नभइसके पनि एकीकृत समाजवादीले भने ७ वटा मन्त्रालय मागेको छ । तर भागबण्डा मिलाउँदा उसले ६ वटा मन्त्रालय पाउने निश्चित जस्तै छ । संसद् पुन:स्थापनाको लागि एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण भएकाले अहिलेसम्म रिक्त रहेको उपसभामुख उसैलाई दिने तयारी भएको छ ।
उपसभामुखमा नेकपा एसले सरला यादवलाई पठाउने तयारी गरेको स्रोतले बताए । स्रोतका अनुसार नेकपा एसबाट मन्त्री हुनेमा पाँच वटा प्रदेशबाट प्रतिनिधित्व हुने गरी तयारी गरेको छ ।
१. भवानी खापुङ, प्रदेश १
२. सरला यादव , उपसभामुख, प्रदेश २
३. विरोध खतिवडा, बागमति प्रदेश
४. किसान श्रेष्ठ, गण्डकी प्रदेश
५. रामकुमारी झाँक्री, लुम्बिनी प्रदेश
६. शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश
७.मेटमणी चौधरी,लुम्बिनी प्रदेश यदि एकीकृत समाजवादीले ७ वटा मन्त्रालय पाएको खण्डमा प्रेम आले, हीराबहादुर केसीमध्ये एक मन्त्री हुने बताइएको छ ।
