दैलेखमा १६ बर्षीया किशोरी बलात्कार आरोपितलाई १२ बर्ष कैद सजाय
दैलेख । दैलेखमा एकजना बलात्कार आरोपित व्यक्तिलाई १२ बर्षको कैद सजाय तोकिएको छ।
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसूरमा आरोपित दुल्लू नगरपालिका–१३ का २१ वर्षीय डम्बर भन्ने दिनेश बिकलाई जिल्ला अदालत दैलेखले सोमबार उक्त कैद सजाय तोकेको हो।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भएको फैसलामा कैदको अलावा आरोपितले ५० हजार क्षतिपूर्ति र १८ सय रुपैंयाँ पीडित राहत कोषमा तिर्नुेपर्ने फैसला गरेको जिल्ला अदालतका सुचना अधिकारी नासु टिकाराम न्यौपानेले बताए ।
पीडितलाई सहमतिमै यौन सम्वन्ध भएको भन्न लगाइएको भएपनि १८ वर्ष भन्दा कम उमेर बालिकालाई मञ्जूरी लिई गरेको करणीलाई बलात्कार मानिने भन्ने कानूनी व्यवस्था अनुसार सजाय भएको उनले बताए।
घटना के थियो ?
२०७७ असार १५ गते जंगलमा बलात्कार गरेको घटनामा गएको चैत ५ गते छोरी जन्मेपछि पीडित पक्षले चैत १३ प्रहरीमा उजुरी गरेको थियो । उजुरी सम्बन्धमा प्रहरीले आरोपित बिकलाई ०७८ जेठ १५ गते गिरफ्तार गरी अनुसन्धान थालेको थियो ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले असार ६ गते दैलेख जिल्ला अदालतमा अभियोग पेश गरेकै दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको आदेशमा पुर्पक्षका लागि काराकार पठाइएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा २०७७ चैत १३ गते भएको थियो । किशोरीको बलात्कार भएको भनिएको घटनाकै बेला गर्भ रहन गएको र पीडितले त्यसबेला जन्माएको भनिएको नवजात शिशु छोरी जन्मेको समय मेल खाएको उल्लेख स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
आरोपितलाई सजाय भएको खवरले आफूलाई सन्तुष्टी लागेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठ बताउँछन्।
