Skip to main content

राष्ट्रिय बाल दिवस : बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गर्दैछन् ।

कार्यक्रममा ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ । सडक बालबालिकामुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि शुभारम्भ गरिनेछ ।

यस्तै दिवसका अवसरमा भदौ ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवाले सन्देश गरिसकेका छन् ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: