पूँजीवादको दलदलमा कसरी फस्छ समाज ?
प्रत्येक सामाजिक-आर्थिक संरचनाको निर्णायक पहिचान उसको उत्पादन प्रणाली हो। जसअनुसार उसको पहिचान कुन समाजले के उत्पादन गर्छ भन्नेबाट होइन कि कसरी उत्पादन गरिन्छ भन्ने आधारबाट गरिन्छ। उत्पादन प्रणालीको समष्टिगत ढाँचाले नै समाजका सामाजिक तथा आर्थिक ढाँचा निर्धारण गर्छ र कुनै पनि समाजका सामाजिक सम्बन्धहरू र सत्ताको संरचनालाई सामाजिक-आर्थिक संरचना निर्माणका आम नियमहरूको आधारमा मात्र सहीरूपमा बुझ्न सकिन्छ। (मार्क्स- पूँजी प्रथम खण्ड)
उत्पादन प्रणालीका मुख्य दुई पक्ष छन्। पहिलो उत्पादनका साधन, जसको एउटा आधारभूत अवयव मानव र मानव श्रम हो। दोस्रो पक्ष हो उत्पादन सम्बन्धहरू। उत्पादन प्रक्रिया यिनको पारस्परिक एकत्व र संघर्षको अवस्थाबाट निरन्तर गति मान रहन्छन्। एउटा नभए अर्काको अस्तित्व पनि रहँदैन। यिनको पारस्परिक एकत्व सामाजिक उत्पादन प्रणालीको रूपमा अभिव्यक्त हुन्छ र अस्तित्वमा रहन्छ भने यिनका बीचको पारस्परिक निषेधात्मक चरित्र सामाजिक गतिको अर्थात् परिवर्तनको कारक हुन्छ। पारस्परिक निषेधात्मक प्रवृत्तिका यस संघर्षको चरमोत्कर्ष सामाजिक क्रान्तिको अवस्था हो, जहाँ एकले अर्कोलाई निषेध गर्छन्। एकत्व र संघर्षको यस द्वन्द्वात्मक सम्बन्धमा कुनै एक पक्षको निषेध हुनु स्वतः अर्को पक्षको निषेध हो र नयाँका आविर्भावको कारक हो। यी दुइटैको एकत्व विना समाजको अस्तित्व अकल्पनीय छ भने दुइटै बीचको पारस्परिक निषेधात्मक संघर्ष विना सामाजिक गति र परिवर्तन अकल्पनीय कुरा हुन।
मार्क्सले आफ्नो कृति, ‘कन्ट्रिब्यूशन टू द क्रिटिकस् औफ पोलीटिक इकोनोमी’को भूमिकामा ऐतिहासिक भौतिकवादको आधारभूत अवधारणा तथा ऐतिहासिक भौतिकवादका सिद्धान्तहरूको शास्त्रीय व्याख्या गर्दै लेखे- ‘जीविकोपार्जनका साधनहरूको उत्पादन प्रक्रियामा आफ्नो चाहनाभन्दा पनि जीवन बाच्नका लागि नभई नहुने अवस्थाले गर्दा मानिसहरू ठोस पारस्परिक सम्बन्धमा जोडिन पुग्छन्, अर्थात् उत्पादनका सम्बन्धहरूमा बाँधिन्छन्। यी सम्बन्धहरू तात्कालिक अवस्थाको भौतिक उत्पादनका साधनहरूको अवस्था अनुरूप हुने गर्छन् र यिनले तत्कालीन उत्पादन प्रणाली निर्धारित गर्नुका साथै सामाजिक-आर्थिक संरचनाको वास्तविक जग- आर्थिक ढाँचा, जसमा सिंगो सामाजिक रचना उभिन्छ र सामाजिक चेतनाको स्तर निर्धारण गर्छन्।’ ‘..उत्पादन सम्बन्धहरू उत्पादक शक्तिहरूको विकासको स्तरकै सादृश्य हुन्छन् भन्ने नियमको सत्यापना कुनै निश्चित उत्पादन प्रणालीको विकासको स्तरबाट मात्र होइन बल्की एउटा उत्पादन प्रणालीलाई अर्कोबाट प्रतिस्थापन गर्नु पर्ने आवश्यकताबाट पनि पुष्टि हुन्छ। यसै नियम अन्तरगत उत्पादक शक्तिको स्तर र उत्पादनका विकासको स्तरले उत्पादन प्रणालीको विकास प्रक्रियालाई सुनिश्चित मात्र गर्दैन बल्की एउटा उत्पादन प्रणालीलाई अर्को उत्पादन प्रणालीबाट विस्थापित गर्नु पर्ने अनिवार्यतालाई पनि प्रस्तुत गर्छ।’ (मार्क्स, क्यापीटल भाग १)।
उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीचको यो अन्तर सम्बन्ध र अन्तरद्वन्द्व सार्वभौम सामाजिक गतिको नियम, अर्थात् ‘सामाजिक उत्पादन सम्बन्धहरू उत्पादक शक्तिको विकासको स्तर र चरित्रकै समरूपतामा रहन्छन्,’ अन्तरगत गतिमान रहन्छन्। जब यिनका बीचको सन्तुलन र तादात्म्य खलबलिन्छ तब उत्पादक शक्ति ती उत्पादन सम्बन्धहरूको निषेध गर्न सक्रिय हुन्छ र उत्पादन सम्बन्धहरू त्यसको प्रतिरोधमा उभिन्छन्। यही परिघटना सामाजिक वर्गसंघर्षको अवस्था हो र यो संघर्ष, विरोध-संघर्ष-शत्रुतापूर्ण संघर्षको अवस्था जस्ता तीन चरण भएर विकसित हुन्छ। शत्रुतापूर्ण वर्ग संघर्षको अवस्था नै उत्पादक शक्ति र उत्पादन सम्बन्धबिचका टकराबको त्यो अवस्था हो जहाँ एकले अर्कोलाई निषेध गर्छन्। यस निषेधात्मक संघर्षमा उत्पादक शक्ति सफल भएमा सामाजिक क्रान्ति सम्पन्न हुन्छ र समाजमा नयाँ उत्पादक शक्तिसँग तादात्म्य र अन्तर सम्बन्धमा सन्तुलन कायम हुने गरी नयाँ उत्पादन सम्बन्ध अस्तित्वमा आउँछन् र समाज परिवर्तनको नयाँ खुड्किलो चढ्छ। उत्पादक शक्ति असफल भएमा प्रतिक्रान्ति हुन्छ। यो नै सामाजिक विकास र क्रान्तिकारी परिवर्तनको निरन्तरता हो र ऐतिहासिक विकासको भौतिकवादी चरित्र हो।
सामाजिक क्रान्तिको प्रमुख कारण प्रत्येक सामाजिक-आर्थिक संरचनाभित्र निरन्तर विकसित हुने उत्पादक शक्ति र मक्किएका पुराना उत्पादन सम्बन्धहरूबिचको सम्झौता विहीन संघर्ष हो, जुन दुस्मनीपूर्ण वर्गसंघर्षको रूपमा अभिव्यक्त हुन्छ। जब वर्गसंघर्ष आफ्नो अन्तिम चरण- दुस्मनीपूर्ण संघर्षको चरणमा पुग्छ तब यो संघर्षरत वर्गहरूबीच सम्झौता होइन हारजितको निर्णायक परिणामसँगै समाप्त हुन्छ। संघर्षरत शोषित वर्ग पराजित भएमा शोषक वर्गका चरम दमनको शिकार हुन्छ र क्रान्तिकारी प्रक्रिया पछाडि धकेलिन्छ। विजय भएमा यसले क्रान्तिकारी परिवर्तन ल्याउँछ र नयाँ सत्ता क्रान्तिलाई पूर्णता दिने दिशामा अगाडि बढ्छ, जसले नयाँ र विगतभन्दा उन्नत नयाँ संरचना स्थापित गर्छ।
वर्गीय समाजको उत्पत्ति र विकासलाई एकपछि अर्को संरचनागत संक्रमणको ऐतिहासिक परिपेक्षमा हेर्ने हो भने, सामान्यतया उत्पादक शक्तिको विकाससँगै विकसित हुने उत्पादनका औजारहरूको विकास, उत्पादनको क्षेत्र विस्तार, प्राविधिक ज्ञानको विकास, उत्पादकत्वमा वृद्धि, सामाजिक चेतनाको विकास र उत्पादन र उपभोगको विस्तार आदि कारणले नयाँ सामाजिक अवस्था सृजना हुँदै जान्छ। तदनुरूप नै यसले उत्पादन सम्बन्धहरूमा परिवर्तनको माग प्रस्तुत गर्छ। त्यस क्रममा विकसित अवस्थासँग मेल नखाने सम्बन्धहरू मक्किँदै जान्छन् र नयाँ अवस्थासँग मेलखाने उत्पादन सम्बन्धहरूका प्रारूप पुरानो संरचना भित्रैबाट जन्मिँदै जान्छन्। यो प्रक्रिया कुनै एक दिनमा वा एक झट्कामा थालनी हुने वा एक झटकामा कुनै दिन विशेष वा क्षण विशेषमा सम्पन्न हुने कुरा होइन, यस क्रमिक परिमाणात्मक परिवर्तनको निरन्तरताले सृजना गर्ने अपरिहार्य अवस्था हो। उदाहरणका लागि- पूँजीवादी उत्पादन सम्बन्धका प्रारूप एक हदसम्म सामन्ती संरचना भित्रै जन्मी सकेका थिए।
त्यस्तै सामन्ती भूस्वामित्व तथा उत्पादन सम्बन्धहरूका प्रारूप दाश व्यवस्थाको आर्थिक-सामाजिक संरचना भित्रै जन्मिएका थिए र दाश व्यवस्थाका भ्रूण आदिम साम्यवादी कबिला समाजको गर्भमा नै जन्मिएका थिए। तर, पूँजीवादबाट समाजवादमा संक्रमणको अवस्था यसभन्दा भित्र हुन्छ। पूँजीवादी व्यवस्थाले समाजवादमा संक्रमणका लागि आवश्यक औद्योगिक, प्राविधिक, वैज्ञानि आदि जस्ता पूर्वाधार त निर्माण गर्छ। तर समाजवादी उत्पादन सम्बन्धका भ्रूण आफूभित्र हुर्किन दिँदैन। पूँजीवादी संरचना र त्यसभन्दा पूर्वका वर्गीय सामाजिक संरचनाहरूमा पनि परस्पर विरोधी वर्गहरूमा समाजको विभाजन, वर्गीय शोषण, वर्गसंघर्ष, तिनको स्वरूप जे भए पनि, सारमा ती सबै संरचनाहरूमा विद्यमान थिए र सार रूपमा त्यो संक्रमण एउटा वर्गीय संरचनाबाट अर्को वर्गीय संरचनामा संक्रमणको प्रक्रिया थियो र यस प्रक्रियामा स्वामित्वको उपरीरूप फेरिए पनि सार फेरिको थिएन। त्यहाँ प्रत्येक संरचनामा त्यो निजी स्वामित्वको रूपमा नै थियो। वर्गीय शोषणको र राज्यसत्ताको उपरीरूप फेरिए पनि सारमा, अर्थात् शासक र शासित, शोषक र शोषित, सामाजिक उत्पादन र निजी उपभोग, जस्ता अवस्थाहरूमा कुनै गुणात्मक फरक थिएन। तर समाजवादमा संक्रमणको परिघटना यी पक्षहरूको पूर्ण नकार र निषेधसँगै सुरु हुन्छ र साझा स्वामित्व सहितको नयाँ सामाजिक संरचना निर्माणमा टुंगिन्छ, जहाँ शासक र शासित, शोषक र शोषित, सामाजिक उत्पादन र निजी उपभोग जस्ता अवस्थाहरूका लागि कुनै ठाउँ रहँदैन।
समाजवादी संरचनामा संक्रमणका लागि आवश्यक न्यूनतम औद्योगिक र प्राविधिक पूर्वाधारको निर्माण, विज्ञान तथा प्रविधिको विकास, उत्पादन र विज्ञान तथा प्रविधिको सफल संयोजन, ठुल्ठुला औद्यागिक प्रतिष्ठानको विकास, उत्पादनको यान्त्रीकरण, सामाजिक उत्पादन तथा उत्पादकत्वको वृद्धि, व्यवस्थापनको वैज्ञानिकीकरण आदि जस्ता भौतिक पूर्वाधारको निर्माण पूँजीवादका देन हुन् भने पूँजीवादका यिनै उपलब्धि समाजवादमा संक्रमणका पूर्वाधार पनि हुन्। समाजवादका लागि आवश्यक यी भौतिक पूर्वाधार समष्टिगत रूपमा पूँजीवादको गर्भमा नै जन्मिन्छन् र विकसित हुन्छ। यसका साथै समाजवादी क्रान्तिको संवाहक शक्ति सर्वहारा वर्गको जन्म, उसको संगठनात्मक, वैचारिक तथा राजनैतिक चेतनाको विकास र वर्गसंघर्षको अनुभव पनि पूँजीवादी संरचना भित्रै विकसित हुन्छन् र समाजवादी क्रान्तिले यी लगायत मानव समाजले त्यस चरणसम्म प्राप्त गरेका सम्पूर्ण अग्रगामी उपलब्धिहरू समेत आफूसँगै लिएर समाजवादी चरणमा प्रवेश गर्छ। यसै अर्थमा समाजवादको जन्म पूँजीवादको गर्भबाट हुन्छ भनिएको हो। तर, आमरूपमा समाजवादी उत्पादन प्रणाली तथा उत्पादन सम्बन्धका भ्रूणहरू पूँजीवादको गर्भमा जन्मिनु र विकसित हुन सक्दैनन्।
किनकि उत्पादन सम्बन्धहरूको प्रश्न सार रूपमा उत्पादनका साधन र सम्पत्तिमाथिको स्वामित्व, उत्पादनको वितरण प्रणाली, अतिरिक्त मूल्यको उत्पादन र उपभोगसँग जोडिएको हुँदा उत्पादनका साधन र स्रोतमाथि निजी स्वामित्व कायम रहनु, उत्पादकलाई उत्पादनका साधनहरूबाट अलग्याएर राख्नु, पूँजीपतीहरूद्वारा अतिरिक्त श्रमको शोषण अवस्थाको निरन्तरता, पूँजी र उत्पादनको केन्द्रीकरण, उत्पादन र बजारमाथि एकाधिकार सुनिश्चित गर्दै जाने प्रवृत्ति आदि पूँजीवादवादको स्थायित्व र विकासका अनिवार्य आवश्यकता हुन्, जुन अवस्था पूँजीवादको सार हो। यस बिना पूँजीवादको अस्तित्व रहँदैन। त्यसकारण उत्पादनका साधन र श्रोत तथा सामाजिक उत्पादनमाथि समाजको सामूहिक स्वामित्व, उपभोगको सामाजिकीकरण, उत्पादक र उत्पादनको एकीकरण जस्ता अवस्थाको सृजना गर्ने आधार वा तिनलाई प्रश्रय दिने अवस्था पूँजीवाद विरोधी अवस्था भएकोले समाजवादी आर्थिक सम्बन्धहरूका भ्रूण त्यस संरचना भित्र स्थापित र विकसित हुन सक्दैन।
समाजवादको सार सामाजिक सम्पत्तिमाथि सामूहिक स्वामित्वका साथै उत्पादनका साधन र श्रोत माथि सामूहिक स्वामित्व र नियन्त्रण कायम गर्नु हो, जुन कुरा पूँजीवादी संरचनाको प्रतिलोम अवस्था हो। आमरूपमा पूँजीवादी संरचना भित्र यो सम्भव हुँदैन। समाजवादी क्रान्तिको पहिलो काम सामाजिक उत्पादन र उत्पादनका साधनमाथि सामाजिक स्वामित्व र उपभोगको सामाजिकीकरण गर्नु हो। यसका लागि क्रान्तिको सफलतासँगै श्रमिक वर्गलाई सत्ताको मालिक बनाई यी कार्यभार पूरा गर्नु श्रमिक वर्गीय सत्ताको पहिलो काम हो।
उत्पादन र उपभोग समाजको प्राकृतिक अवस्था हो। समाज र व्यक्तिको दैनिक आवश्यकता उत्पादन र उत्पादकत्वका विकासको प्रमुख प्रेरक कारण हो। सामाजिक उत्पादनले जहिले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले मानिस र समाजका आवश्यकता परिपूर्ति गर्नुका साथै मानवीय आवश्यकता र उत्पादनबिच निश्चित द्वन्द्वात्मक सम्बन्ध पनि स्थापित गर्छ। र, यस प्रक्रियामा एकले अर्कोलाई प्रभावित र प्रोत्साहित पनि गर्छन्। आवश्यकता-उत्पादन-परिपूर्ति, पुनः नयाँ आवश्यकताको परिपूर्तिका लागि उत्पादन र परिपूर्ति, यो अटुट शृङ्खला सामाजिक उत्पादनका विकासको निरन्तरता हो। सामाजिक उत्पादन स्वयम्ले एकपछि अर्को आवश्यकतालाई जन्म दिन्छ। यसै आवश्यकता-उत्पादन- परिपूर्तिको स्वचालित द्वन्द्वात्मक नैसर्गिक गतिले उत्पादक शक्तिको विकास गर्नका साथै उत्पादन सम्बन्धलाई पनि प्रभावित गर्छ। उत्पादन-उपभोग-पुनरुत्पादन मानव समाजको नैसर्गिक चरित्र हो, जुन शृङ्खला हाम्रो चाहना भन्दा पनि मानवका सामाजिक जीवनको प्राकृतिक अपरिहार्य आवश्यकता हो।
तर, वर्गीय समाजमा, विशेष गरेर पूँजीवादी व्यवस्थामा, यो प्रक्रिया मानिस वा समाजको जीवन र परिवेशले माग गरेको प्राकृतिक ‘आवश्यकता’भन्दा पूँजी तथा उत्पादन र बजारको अन्तर्राष्ट्रिय सञ्जालले सृजना गरेको बजारको अवस्था, पूँजीपति वर्गको बढीभन्दा बढी मुनाफा आर्जनको चाहनाले सृजना गरेको ‘आवश्यकता’बाट बढी निर्देशित हुन्छ। उत्पादनले मानिसमा उपभोगको चाहना बढाउँछ र यसले उत्पादनलाई उत्प्रेरित गर्छ। यो मानवको प्राकृतिक स्वभाव हो। पूँजीवादको वर्तमान विकसित चरणमा सामाजिक उत्पादनको निर्णायक हिस्सा पूँजीपती वर्गको नियन्त्रणमा छ। उत्पादनका साधन श्रोत, प्रत्यक्ष अप्रत्यक्ष रूपले तिनको नियन्त्रणमा छन् र पूँजीपति वर्गले यी अवस्थाहरूको भरपुर उपयोग गर्दै उत्पादनलाई वास्तविक सामाजिक आवश्यकताको परिपूर्तिका लागि भन्दा बढी निजी मुनाफा आर्जनको दृष्टिकोणबाट गरिँदै छ। यही लालच पूँजीवादी विकासको असमान विकास र नियमित पूँजीवादी संकटको कारण पनि हो।
समाजवादी क्रान्ति सम्पन्न हुनासाथ समाजको वर्गीय विभाजन समाप्त हुँदैन। सामाजिक, आर्थिक, वैचारिक र सांस्कृतिक सम्पूर्ण क्षेत्रमा विभेदको अवस्था समाप्त नभएसम्म समाजवादी संरचनामा पनि वर्गीय विभाजनको अवस्था जीवित रहन्छ र कुनै न कुनै रूपमा वर्गसंघर्ष जीवित रहन्छ। जसलाई क्रमिक रूपमा समाप्त गर्दै जानुपर्ने हुन्छ। यो काम श्रमिक वर्गको राज्यसत्ताले गर्दछ। त्यसकारण समाजवादी आर्थिक-सामाजिक संरचनाको प्रारम्भिक चरणमा वर्गीय सत्ता कायम नै रहन्छ। तर यस राज्यसत्ताको चरित्र विगतका राज्यसत्ताहरूको चरित्रभन्दा नितान्तभित्र यसकारण हुन्छ कि यस सत्ताले विगतका वर्गीय राज्यसत्ता जस्तो वर्गीय शोषणको परिपाटीलाई बलियो र झन् बलियो बनाउँदै शासित वर्गमाथि आफ्नो पकड सुदृढ र चिरस्थायी बनाउने काम नगरी, यसको विपरीत, वर्गीय शोषण हुने अवस्थालाई नै समाप्त गरी वर्गविहीन नागरिक जनप्रशासनको स्थापनाका लागि भौतिक तथा मानसिक आधार निर्माण गर्ने काम गर्छ। यस प्रक्रियामा त्यसका अगाडि प्रतिरोधी प्रवृत्तिका शक्तिहरूबाट उत्पन्न गरिने प्रतिरोध र बाधा व्यवधानहरूलाई समाप्त गर्दै अगाडि बढ्नुपर्ने वाध्यात्मक अवस्था रहन्छ। त्यसकारण प्रारम्भिक चरणमा सर्वहारा वर्गीय सत्ता पनि नागरिक जनप्रशासनको रूपमा नभई सर्वहारा वर्गको राज्यसत्ता, जसलाई मार्क्सले, प्रकारान्तरले सर्वहारा अधिनायकत्व भनेका छन्। जुन शब्दावली राज्यसत्ताको समानार्थी हो, कायम गरिन्छ। तर, यो संक्रमण कालीन अवस्था मात्र हो। क्रमिक रूपमा यो अवस्था समाप्त हुँदै जान्छ र नागरिक सत्ता स्थापित हुन्छ।
सामाजिक क्रान्ति आकस्मिकता नभई वस्तुगत नियमितताका परिणाम हुन्छन् र यी सामाजिक परिवर्तनका ठोस र निश्चित वस्तुगत नियम अन्तरगत हुने सर्वपक्षीय परिमाणात्मक परिवर्तनहरूको समन्वयकृत सम्मुच्चयनको परिणाम स्वरूप परिघटित हुने गुणात्मक परिवर्तनका सामाजिक घटना हुन्। सामाजिक जीवनका विभिन्न फाँट प्रत्येक क्षेत्र आ-आफ्ना वस्तुगत नियमहरू अन्तर्गत गतिमान छन्। तर, यस सापेक्षिक स्वायत्तताको बाबजुद विज्ञानका अन्य क्षेत्रमा जस्तै सामाजिक परिवर्तनका विशिष्ट नियमहरूबाट नियमित रहन्छन् र समाज परिवर्तनको प्रक्रियागत निरन्तरतालाई अनुसरण गर्छन्। सामाजिक परिवर्तनका यस्ता केही नियमहरू सार्वभौम, सर्वकालिक र सार्वत्रिक चरित्रका छन्- जस्तै सामाजिक चेतनाको विकासमा सामाजिक उत्पादनको निर्णायक भूमिका, सामाजिक संरचनाको निर्माणमा उत्पादन प्रणालीको निर्णायक भूमिका, समाजका आर्थिक सम्बन्धको निर्माणमा उत्पादन सम्बन्धहरूको निर्णायक भूमिका, समाजको उपरि संरचना निर्माणमा आर्थिक आधारको निर्णायक भूमिका र व्यक्तिको चरित्र निर्माणमा समष्टिगत सामाजिक परिवेशको प्रभाव आदि।
ऐतिहासिक भौतिकवादका यी नियमहरू सार्वत्रिक र सर्वकालिक चरित्रका हुनुका साथै समाज विकासको हरेक चरणमा सर्वत्र र सधैं, यहाँसम्म कि समाजको साम्यवादी अवस्थामा पनि क्रियाशील रहन्छन्। यी आम तथा सार्वत्रिक र सर्वकालिक नियमहरूसँगै सामाजिक परिवर्तनका केही यस्ता नियमहरू छन् जो समाजका केही विशिष्ट सामाजिक आर्थिक संरचनाहरूमा र अवस्था विशेषमा मात्रै लागू रहन्छन्, जस्तै वर्ग विभाजित समाजमा वर्गीय शोषण र वर्गसंघर्षको नियम, पूँजीवादमा पूँजी र ज्यालको नियम। त्यस्तै वर्गीय समाजमा सामाजिक परिवर्तनको बाहक शक्तिको रूपमा वर्गसंघर्षको नियम, जुन नियम केवल त्यस्ता सामाजिक-आर्थिक संरचनाहरूको लागि मात्र सत्य छन् जहाँ सामाजिक आर्थिक संरचना शत्रुतापूर्ण वर्ग विभाजन र उत्पादन सम्बन्धको अवस्था रहन्छ। यी नियम न कविलाई आदिम सामाजिक संरचनामा क्रियाशील थिए न समाजको साम्यवादी संरचनामा सक्रिय रहने छन्। समाजवादी संरचनाको प्रारम्भिक चरणमा वर्गीय विभाजन र वर्गसंघर्षको अवस्था रहन्छ, तर त्यसको चरित्र शत्रुतापूर्ण हुँदैन बल्की वर्गीय विभाजनलाई निषेध गर्दाको अवस्थाको संघर्षका रूपमा र बौद्धिक श्रम र शारीरिक श्रमबीचका विभेदको रूपमा रहन्छ। याे सामग्री हामीले लाेकपाटीबाट साभार गरेका हाैँ ।
