मन्त्रीको नाम टुंगो लगाउन देउवाले बोलाए पदाधिकारी बैठक
बुधबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्।
बैठक देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ। सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रीपरिषदले अहिलेसम्म पूर्णता पाउन सकिरहेको छैन। अब छिट्टै नै मन्त्रीपरिषद विस्तारको तयारीमा प्रधानमन्त्री देउवा छन्।
उनले आज बोलाएको पार्टीको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ। देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने र आज नै शपथ लिने तयारी गरेका छन्।
मंगलबार सत्तापक्ष गठबन्धनका नेताहरुले खड्कालाई परराष्ट्रमन्त्री बनाउन सहमती जनाएका थिए। यसैगरी कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ।
