प्रचण्डको ब्रिफिङ : दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुन्छ
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको सोमबार बसेको बैठकमा अध्यादेश फिर्ताका लागि सहमति जुटेको ब्रिफिङ गरेका हुन्।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको बताए। त्यस्तै, प्रचण्डले अब शीर्ष नेताहरू बसेर मन्त्रालय बाँडफाँट गर्ने र पर्सिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
‘अध्यादेश फिर्ता लिने प्रक्रिया सुरू हुन्छ भनेर अध्यक्षले भन्नुभएको छ। प्रक्रिया मिलाएर सरकारले फिर्ता लिन्छ होला,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘मन्त्रालय भागबण्डाको विषयमा अहिलेसम्म प्रवेश नै भएको छैन। अब यस विषयको समेत टुंगो लाग्छ भनेर भन्नुभएको छ।’
संगठनात्मक प्रतिवेदन र मन्त्रीहरूबारे छलफल गर्न भोलि ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको छ। आइतबार बसेको सत्ता गठबन्धन बैठकमा अध्यादेश फिर्ता लिने सहमति समेत भएको थियो।