अमेरिका–तालिबान सम्झौताले अफगान सरकार चाँडो ‘कोल्याप्स’ : अमेरिकी रक्षा अधिकारी
तालिबानसँग अमेरिकाले गरेको सम्झौता अफगान सरकार तीव्र गतिमा ‘कोल्याप्स’ हुनुको कारक रहेको अमेरिकाका सुरक्षा अधिकारीहरुले बताएका छन्।
अमेरिकाको माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा भइरहेको सुनुवाइको क्रममा सुरक्षा अधिकारीहरुले तालिबानले अफगानिस्तान तीव्र गतिमा कब्जा गर्नुकाे पछाडि अमेरिकाले सन् २०२० मा तालिबानसँग गरेको सम्झौता कारक रहेको बताएका हुन्।
सन् २०२० को फेब्रुअरीमा कतारको दोहामा भएको सम्झौताले अमेरिकी सैनिक फिर्ताको मिति तय गरेको थियो।
अमेरिकी सैनिक जनरल फ्रयांक म्याकेन्जीका अनुसार अफगान सरकार र सैनिकमा सो सम्झौताको हानिकारक प्रभाव परेको बताएका छन्।
रक्षामन्त्री लोयड अस्टिनले पनि जनरल म्याकेन्जीको भनाइमा सहमति जनाए। रक्षामन्त्री अस्टिनले सम्झौताले तालिबानलाई थप बलियो हुन सहयोग गरेको बताएका छन्।
दोहामा भएको सम्झौतामा अमेरिकी सैनिक फिर्ताको समय सीमासँगै तालिबानले अल कायदासहितका आतंककारी समूहलाई आश्रय नदिनेलगायत सहमति भएको थियो ।
डोनाल्ड ट्रम्पको पालामा भएको सहमति राष्ट्रपतिमा निर्वाचित भई सत्तामा आएका जो बाइडेनले पनि निरन्तरता दिए। सहमतिअनुसार अमेरिकी सैनिक मे अन्तिममा फिर्ता हुनुपर्ने थियो। बाइडेनले सो समय बढाएर अगस्ट ३१ बनाएका थिए। सोही समयमा अमेरिकी सैनिक फिर्ता भयो।
अमेरिकी सैनिक फिर्ताको क्रम जारी रहँदा नै तीव्र गतिमा आफ्नो पडक बिस्तार गरेको तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो। अहिले अफगानिस्तानमा तालिबानको सरकार छ।
सैनिक तथा समस्यामा रहेकाहरुलाई काबुलबाट उद्धार गर्नेक्रम जारी रहेका बेला अगस्ट २६ मा हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिक भएको आत्मघाती आक्रमणमा १३ अमेरिकी सैनिक तथा कम्तीमा १६९ जना अफगानीको ज्यान गएको थियो।
