पञ्चा सिंह बनिन् अखिल (क्रान्तिकारी) को पहिलो महिला अध्यक्ष, यस्तो छ उनको विगत
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व दाबेदार चार उपाध्यक्ष र एक महासचिवलाई पछि पार्दै पञ्चा सिंह अध्यक्ष चुनिएकी छन्।
तीन दिनसम्म राजधानीमा चलेको २२ औं राष्ट्रिय सम्मेलनमा सहमति नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अखिल क्रान्तिकारी अध्यक्षको जिम्मेवारी पञ्चालाई दिन अध्यक्ष दाबेदारलाई मनाएका हुन् ।
बोलाएर प्रचण्डले पञ्चाको नाममा सहमति गराएका थिए । तीन दिनदेखि चलेको क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका शक्तिशाली उम्मेदवार वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दीपक देवकोटा र विजय गौतमलाई पछि पार्दै अध्यक्ष बनेकी हुन् ।
को हुन् पञ्चा सिंह ?
अनेरास्ववियुको २१ औं राष्ट्रिय सम्मेलनमा समावेशी उपाध्यक्ष बनेकी पञ्चा कालिकोटमा जन्मिएर जुम्ला कार्यक्षेत्र बनाउँदै अखिल क्रान्तिकारीमा होमिएकी हुन् । देशमै पछाडि परेको भनिएको भूगोलकी २२ औं सम्मेलनमा देखिएका अध्यक्षका ६ दाबेदारमध्ये उनी एक्ली महिला हुन् ।
अखिलको १७औँ सम्मेलनबाट लेखनाथ न्यौपाने अध्यक्ष हुँदा केन्द्रीय सदस्य बनेकी सिंह माओवादीसँग नारायणकाजीको एकता हुँदा सचिवालय सदस्य बनेकी थिइन्। उनी सचिवालय सदस्य बन्दा वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेत केन्द्रीय सदस्य थिए।
अघिल्लो अर्थात् २१ औँ राष्ट्रिय सम्मेलनमा जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’को टिम बन्दा सिंह प्रभाकरको टिमबाट चुनाव लडेकी थिइन्।
अहिले चुनाव नहुने स्थिति बनेपछि सहमतिकै आधारमा पञ्चाले अध्यक्षको जिम्मेवारी पाएकी हुन् । नेता प्रभाकर अर्थमन्त्री बन्नु पञ्चाका लागि सहमतिको सजिलो बाटो भएकोसमेत कतिपयले अनुमान गरेका छन् ।
पञ्चाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेकी छन। क्रान्तिकारी अध्यक्ष पञ्चा चयन भएसँगै अन्य पाँच उम्मेदवार भने केन्द्रीय सदस्य बनेका छन् ।
प्रचण्डले पञ्चालाई अध्यक्ष बनाउन सहमति दिने पाँच नेता सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतमलाई केन्द्रीय सदस्यको जिम्मेवारी आइतबारबाटै लागू हुनेगरी दिएको स्रोतको दाबी छ ।
