नेकपा एमालेमा केपी ओली अनुकूल उमेरहद प्रस्ताव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को कार्यकाल पनि पार्टीको नेतृत्व गर्न पाउने सुनिश्चित भएको छ। एमालेको विधान अधिवेशनले ७० वर्षे उमेरहद राखेपनि ओलीलाई अनुकूल हुने गरी व्याख्या गरेपछि उनका लागि अर्को कार्यकाल सुनिश्चित भएको हो।
तर कार्यकालको बीचमा ७० वर्ष पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने गरी विधानको व्याख्या गरिएको छ।
ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने आवाज उठेको थियो।
त्यसको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुबै व्यवस्था कायम रहने बताए। एउटा कार्यकारी पदमा दुई पटक उम्मेदवार हुनसक्ने व्यवस्थालाई स्थपित गरेर जानुपर्ने उनले बताए।
विधान अधिवेशनमा प्रस्ताव गरिएको उमेरहदमा नेकपा एमालेको कार्यकारी पदमा ७० वर्ष सम्म रहन पाउने तर कार्यकालबीचमा उक्त उमेर पूरा भएपनि काम गर्न पाउने उल्लेख छ। केपी ओली ७० वर्ष पुगेका छन्। अब यसै वर्ष महाधिवेशन भएमा उनी अध्यक्षको उम्मेदवार बन्नेछन्। अध्यक्षमा निर्वाचित भएमा उनले ७१ वर्ष पुगेपनि हट्नुपर्ने छैन। त्यसलाई कार्यकाल अवधि मानिनेछ।
