Skip to main content

शीतभण्डार अभावमा डोल्पाका स्याउ खेर जाँदै

डोल्पा । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् । उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् ।

उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले गर्दा स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका – ३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिए ।

यहाँको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा छवटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारवटा मात्र मुस्किलले प्रयोगमा आएका थिए । अन्य दुईवटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए ।

स्याउलाई भण्डारण गर्न सजिलो होस् भनेर कार्टुन (बाकस)समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए । एउटा शीतभण्डारमा १० टन स्याउ राख्न सकिन्छ । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै स्याउ फलेको कृषक द्वारिका शाही बताउँछन् ।

त्रिपुरासुन्दरी, ठूलीभेरी, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा ठूलो मात्रामा स्याउ उत्पादन हुने गर्दछ । यस वर्षदेखि अङ्गुरसमेत उत्पादन भए पनि बजार नहुँदा कुहिएर खेर गएको कृषक कृष्ण श्रेष्ठको भनाइ छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद ज्ञावलीलगायतको समूहले स्याउलगायत अन्य नगदे बालीको अनुगमन गरी यहाँको विकास र समृद्धिमा हातेमालो गर्न चाहेको बताएका थिए । उनीहरुले चिना, फापर र कागुनोलगायतका बालीको समेत अनुगमन गरेका थिए ।

सडकको पहुँचसँगै भारतीय र चिनियाँ स्याउ बजारमा सहजै पाइने अवस्थामा आफ्नै स्थानीय उत्पादनले भने बजार नपाउनु दुःखद् भएको कृषकले बताएका छन् । स्याउ उत्पादन हुने ठाउँमा सडक र अन्य पूर्वाधार निर्माण गर्न माग गरिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डसँग सहायक सडक जोडेर स्याउ उत्पादन हुने गाउँसम्म सडक लान सके सजिलै स्थानीय स्याउ बजारसम्म आउने र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा कृषकले गरेका छन् । डोल्पामा स्याउ सबैभन्दा बढी र त्यसपछि सिमी उत्पादन हुने गर्दछ ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: