वैद्य र बिजुक्छे केशरजंग रायमाझीभन्दा भ्रष्ट हुने देखियो : खगेन्द्र संग्रौला
लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य र नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे केशरजङ रायमाझीभन्दा भ्रष्ट हुने देखिएको टिप्पणी गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै लेखक संग्रौलाले यस्तो टिप्पणी गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, वृध्द कमरेडद्वय मोहन वैद्य र नारायणमान बाजुक्छेले इतिहासको मसानघाटमा मिल्काइएको राजतन्त्रसँग गर्धन गाँसेर राष्ट्रिय स्वाधीनता जोगाउने भएछन् !कमरेड केशरजङ रायमाझीको काम यिनले गर्दिएपछि स्वर्गबासी रायमाझीले चैँ अब के गर्ने होला? हे ठोरीका राम!’
केही दिनअघि एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले पनि देशको बद्लिँदो अवस्थालाई सुधार गर्न राजतन्त्रसँग मिलेर अघि बढ्न सकिने बताएका थिए। वैद्यको प्रस्तावसँग मिल्ने गरी बिजुक्छेले पनि देशको हितका लागि राजासँग मिलेर अघि बढ्ने बेला आएको स्वीकार गरेका थिए।
सोमबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै देशभक्त शक्ति एक ठाउँमा उभिनु पर्ने बेला आएको र त्यसका लागि राजतन्त्रसँग पनि सहकार्य गर्न सकिने बताएका थिए।
