डोल्पामा जहाज टिकटमा पाइलट र कर्मचारीको हालीमुहाली
कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लाहरुमा आवतजावतका लागि सडक यातायातको राम्रो सुविधा छैन् । विकट जिल्ला डोल्पा र मुगुमा सडक जोडिएपनि सडक स्तरउन्नति नहुनुका साथै पक्की पुलहरु नबन्दा दर्जनाैँ ठाउँमा गाडी परिवर्तन गरेर जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । यसकारण पनि कर्णालीका जिल्लामा सडकमार्गबाट यात्रा गर्न जोखिमसँगै अत्यन्तै झन्झटिलो पनि छ । कर्णालीमा सडकको विकल्प हवाइ यातायात हो ।जहाजमा सजिलै र छोटोसमयमै विशाल पहाड छिचोल्दै गन्तव्यमा पुग्न सकिने भएकाले कर्णालीका नागरिकहरु हप्तौँ कुरेर भएनि जहाजनै रोज्ने गर्दछन् ।
जुफाल एयरपोर्टमा यात्रु खचाखच
डोल्पाको जुफाल विमानस्थलमा यात्रुहरु खचाखच भरिएका छन् । गाउँघरमा दसैँ मनाएर फर्किने सर्वसाधारण,विद्यार्थी र डोल्पाका पर्यटकीय क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण जुफाल विमानस्थल यात्रुहरुले खचाखच भरिएका हुन् । दैनिक दुईदेखि तीन वटासम्म मात्र उडान हुने भएकाले दैनिक यात्रुहरु थपिँदै गएको नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
पहुँचवालालाई एकैछिनमा टिकट
जुफाल विमानस्थलमा पहुँचवाला मान्छेहरु एकै दिनमा उड्ने गरेका छन् । एयरलाइन्सका कर्मचारी,पाइलट,सिडिओ,सांसद र मन्त्रीका मान्छेहरु एकदिनमै उड्ने गरेका हुन् । जहाजको आशामा जुफाल विमानस्थल पुग्ने सर्वसाधारणहरु हप्तौँ कुर्दा पनि टिकट पाउँदैनन् । एयरलाइन्समा आबद्ध कर्मचारी र नेताहरुसँग चिनजानका व्यक्तिहरुले मात्रै टिकट पाउने गरेको एयरपोर्टमा पुगेका यात्रुहरुको गुनासो छ ।
