कोरोनाविरुद्धको फाइजर खोप कर्णाली प्रदेश अस्पतालबाट दिइने
सुर्खेत, २५ कात्तिक। कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई दिइने भएको छ । कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जस अन्तरगत कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार अन्य प्रदेशमा पनि यो खोप लगाउने अभियान एकपटक शुरु हुने छ । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६ सय २० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो । नेपालमा अहिलेसम्म १८ वर्षभन्दा माथिको जनसङ्ख्याको करिब ३८ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३७ दशमलव ६ प्रतिशत अर्थात् ७४ लाख ८२ हजार एक सय ९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ४३ दशमलव नौ प्रतिशत अर्थात् ८७ लाख ५० हजार नौ सय ६० जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
अहिलेसम्म कुल एक करोड ६२ लाख ३३ हजार एक सय ५५ मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्षभन्दा मुनिका बालबालिकाका लागि पनि खोप लगाउन खरिद प्रक्रिया सुरु भइसकेको जनाएको छ ।
