चाडपर्वमा सवारी दुर्घटनामा कर्णालीका ६० जनाकाे मृत्यु
सुर्खेत । कर्णाली प्रदेशमा चाडपर्वको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ६० जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार दशैँ र तिहारको अवधिमा कर्णालीमा ४१ वटा सवारी दुर्घटना भएका छन । सबैभन्दा ठूलो दुर्घटना मुगुमा भएको छ । मुगुमा ३३ जनाको ज्यान जानेगरी बस दुर्घटना भएको थियो ।
यस्तै सल्यानमा १३, सुर्खेतमा सात, जाजरकोटमा पाँच, दैलेख, रुकुम पश्चिम र जुम्लामा एक(एक जना गरी सवारी दुर्घटनामा परेर ६० जनाको मृत्यु भएको हो । यस अवधिमा कर्णालीमा सवारी दुर्घटनामा परेर १२८ जना घाइते भएका छन । सुर्खेतमा ५४, सल्यानमा ३१, मुगुमा २१, दैलेख र जाजरकोटमा नौ(नौ जना सवारी दुर्घटनामा परेर घाइते भएको जानकारी प्रदेश प्रहरी कार्यालयले दिएको छ ।
रुकुम पश्चिम र जुम्लामा दुई(दुई जना घाइते भएको कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठले यसपटक सवारी दुर्घटनाबाट ठूलो क्षति भएको बताए । क्षमताभन्दा बढी यात्रु बोक्नु, कच्ची सडक, सवारी चालकको लापरबाही, पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेको उनले जानकारी दिए । उनले भने, “कर्णालीका ग्रामीण भेगका सडक कच्ची र साँघुरा छन । मर्मतका लागि ग्रामीण भेगमा सुविधासम्पन्न ग्यारेज पनि छैनन । चालकको लापरबाहीसँगै सवारी साधनको क्षमताभन्दा बढी सवारी यात्रु बोक्दा धेरै सवारी दुर्घटना भएका छन ।”
सल्यानमा पछिल्लो चार महिनाको अवधिमा ४९ वटा सवारी साधन दुर्घटनामा परेका छन । गएको साउनदेखि कात्तिकसम्मको चार महिनाको अवधिमा ४९ वटा सवारी साधन दुर्घटना भएका हुन । जीर्ण सडक र तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटना बढेको बताइएको छ । यी सबै सवारी दुर्घटनामा परेर २२ जना यात्रुको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन । मृत्यु हुनेमा आठ पुरुष र १४ महिला रहेका छन ।
आठवटा ट्रक, १० वटा बस, १३ वटा जिप, १६ वटा मोटरसाइकल, एक ट्र्याक्टर र अन्य सातवटा सवारी दुर्घटनामा परेर ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक नियम पालना नगर्ने र सडकको अवस्थासमेत नहेरी चालक, सहचालकले मनपरी तीव्र गतिमा सवारी चलाउने गरेकाले सडक दुर्घटना भएको पाइएको छ ।
