सर्वोच्चमा गेटभित्र वकिलको धर्ना, बाहिर प्रधानन्यायाधीश राणाको पक्षमा प्रदर्शन
बढाइयो सुरक्षाकर्मी
सर्वोच्च अदालतको मुख्य गेटभित्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई रोक्न भन्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा वकिलहरूले धर्ना दिइरहेका बेला गेटबाहिर भने एउटा समूहले प्रधानन्यायाधीश राणाको पक्षमा पक्षमा प्रदर्शन गरेको छ।
राष्ट्रिय झन्डा बोकेर आएका केही मानिसहरूले न्यायमा अवरोध गर्न पाइँदै भन्दै वकिलहरूको धर्नाको विरोध गरेका हुन्। आफूविरूद्ध बाहिर प्रदर्शन भएपछि धर्नामा बसेका वकिलहरूले ुचोलेन्द्रका मतियार, होसियार भन्दैु नारा लगाएका थिए।
बाहिर प्रदर्शन गर्नेहरूलाई प्रहरीले केहीबेरमा त्यहाँबाट हटाएका छन्। वकिल र बाहिर प्रदर्शन गर्ने समूहबीच तनावको अवस्था नआओस् भनेर सर्वोच्च अदालतमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।
केहीबेरअघि त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।
वकिलहरूले मूल गेटमा अवरोध गरेपछि प्रधानन्यायाधीश राणा आज पनि अर्कै गेटबाट अदालत प्रवेश गरेका छन्। यसअघि बारले शुक्रबार पनि राणालाई सर्वोच्चको मूलगेटबाट प्रवेश दिएको थिएन।
