मुख्यमन्त्री राईलाई विश्वासको मत दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको संयुक्त बैठक
प्रदेश १ का सत्तारूढ गठबन्धनका पाँच वटै दलका सांसदहरूको संयुक्त बैठक विराटनगरमा सुरू भएको छ।
विराटनगरस्थित विग होटलमा पाँच दलले आफ्ना सबै सांसद भेला गरेर भोलि प्रदेशसभामा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिने जनाएका छन्।
आज सम्पन्न कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिएको छ।
मुख्यमन्त्री राजेन्द्र राईले भोलि प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।
पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्।
प्रदेशको पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेश सभामा हाल कायम संख्या ९२ छ।
गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने अवस्था छ।
