६ मन्त्रालय खाली राखेर शाही मात्र किन भए मन्त्रीमा नियुक्त ?
गृह जिल्लामा आगालागी भएपछि मन्त्रीमा चन्द्रबहादुर शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १४ दिनपछि एक जना मात्रै मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालयसहित कर्णालीमा सात ओटा मन्त्रालय छन् । तर मुख्यमन्त्री शाहीले ढिलै भएपनि एक जना मात्रै मन्त्री नियुक्त गरेका छन् ।
कारण, गएराती मुगुको सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीबाट १७ घर र तीन घुम्ती पसलसहित २१ घर खरानी भएका छन् । नेकपा एकीकृत समाजवादीका सांसद चन्द्रबहादुर शाही मुगुबाट निर्वाचित भएका हुन् । उनको गृह जिल्लामा आगालागी भएपछि राहत लिएर मुख्यमन्त्री मात्रै जानुभन्दा शाहीसहित जाँदा प्रभावकारी हुने भएपछि गठबन्धनमा मंगलबार दिउँसो मन्त्री नियुक्ती बारे छलफल चलेको स्रोत बताउँछ ।
मुख्यमन्त्री शाही आज नै अग्नी पीडितलाई राहत लिएर गमगढी जाने कार्यतालिका समेत थियो । ‘सात ओटै मन्त्रालयमा कुन कुन दलले पाउने भन्ने छलफल भइरहेको थियो,’ स्रोतले भन्यो, ‘मुगुमा आगलागी भएपछि तत्कालै शाहीलाई मन्त्रीमा नियुक्ती गरेर बाँकी मन्त्रालयहरुको भागवण्डा प्याकेजमै टुंगाउने गठबन्धनमा छलफल भएको हो ।’ चिसो बढी रहेको बेला मुगाली अग्नी पीडितलाई राहत लिएर शाही पनि जाँदा राम्रो सन्देश जाने भएकाले पनि आज एक जना मात्रै मन्त्री नियुक्त गरिएको माओवादी केन्द्रका एक सांसद बताउँछन् ।
मुख्यमन्त्रीसहित नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार विहान राहत लिएर गमगढी पुग्ने कार्यतालिका छ । ‘मुख्यमन्त्रीले राहत प्याकेज उपलव्ध गराउने प्रेस विज्ञप्तीबाट आज नै घोषणा गरिसक्नु भएको तपाइँलाई थाहै छ,’ काँग्रेस निकट एक सांसद भन्छन्, ‘मुख्यमन्त्री आजै गमगढी पुग्ने योजना थियो, तर मुगुकै सांसदलाई मन्त्री बनाएर लिने भएपछि राम्रो हुनेहुँदा शाहीलाई नियुक्त गरिएको हो ।’
