सुर्खेत काँग्रेस अधिवेशन : काे-काे छन् सभापतिका आकांक्षी ?
सुर्खेत। नेपाली काँग्रेस सुर्खेत जिल्लाकाे अधिवेशन आज सुचारू हुँदै छ । याे अधिवेशनबाट जिल्ला कार्यसमिति चयन हुने छ । जिल्ला कार्यसमिति चयनका लागि विशेषरूपमा सभापति पदका लागि आकांक्षी उम्मेदवारकाे संख्या बढेकाे छ ।
सुर्खेतका २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सम्पूर्ण प्यानल संस्थापन (देउवा) समुहले जितेकाे छ । संस्थापनइतर (पाैडेल) समुहबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि सभापतिकाे उम्मेदवार हुने बाटाे बन्द भएकाे छ । तर, संस्थापन समुह महामन्त्री पूर्ण बहादुर खड्का निकटभित्रै सभापतिका आकांक्षी बढेका छन् ।
जिल्ला सभापतिका लागि यज्ञबहादुर बुढाक्षेत्री, देवकुमार सुवेदी, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, श्यामकुमार भारती, खड्कबहादुर पोखरेल, विष्णुबहादुर खड्का, कालीप्रसाद शाक्य र उपेन्द्रबहादुर थापा सभापतिका आकांक्षी छन् । यिमध्ये बुढाक्षेत्री कर्णाली प्रदेश सरकारका निवर्तमान सामाजिक विकास मन्त्री हुन् भने सुवेदी वीरेन्द्रनगर नगरपालिका र थापा पञ्चपुरी नगरपालिकाका नगरप्रमुख हुन् ।
सभापतिका आकांक्षीमध्ये क्षेत्र नं. १ बाट खड्क बहादुर पाेखरेल र क्षेत्र नं. २ बाट उपेन्द्र बहादुर थापाले सभापतिका लागि सार्वजनिक रूपमा उम्मेदवारी घाेषणा गरिसकेका छन् ।
यीमध्ये बुढा, सुवेदी, खड्का, रावत र भारती सभापतिका बलिया उम्मेद्वारकाे रूपमा देखिएका छन् ।
बुढा यसअघि १३ औं महाधिवेशनमा जिल्ला सभापतिका प्रतिस्पर्धी हुन् भने खड्का महामन्त्री खड्काकै सहोदर भाई हुन् । देवकुमार सुवेदी वीरेन्द्रनगर नगरपालिकाका मेयर हुन् शाक्य र सापकोटाले यसअघि दुई पटकसम्म सभापति र सचिवमा पराजय भोगिसकेका छन् ।
