बदला लिने होडबाजीमा खड्का–विसीलाई उम्मेदवार मिलाउन सकस
दैलेख । नेपाली काँग्रेस संस्थापनईतर (पौडेल) समुहको दैलेखमा दुई छुट्टै प्यानल देखिएका छन् । पूर्वराज्यमन्त्री गणेश बहादुर खड्का र पार्टी सभापति कृष्ण कुमार विसीले आ–आफ्नै प्यानल बनाएका हुन् ।
क्षेत्रीय अधिवेशनसम्म एउटै समुहमा देखिएर आन्तरिक रुपमै मिलाए पनि जिल्ला सभापतिका लागि भने निकै रस्साकस्सी चलेको छ ।
अहिले पौडेल समुहबाटै सभापतिका लागि तीन जना उम्मेदवार तयार भएका छन् ।
देउवा समुहबाट निर्विरोध रुपमा घनश्याम भण्डारीको उम्मेदवारी घोषणा भैसकेको छ ।
खड्काले मणीराम रेग्मीलाई सभापति बनाउन जोड गरेका छन् भने विसीले भुपेन्द्र शाही र गणेश उपाध्यायमध्ये एकजनालाई सभापति बनाउन निकै जोड गरेका छन् । यद्यपी शाही र उपाध्यायले आ–आफ्नै अडान लिएका छन् ।
आफु निकट कार्यकर्तालाई मिलाएर लिनसक्ने दख्खल खड्का र विसीमा भएपनि बदलावको भावनामा अडिग हुँदै उनिहरुले आफु निकटलाई सभापति बनाउने होड चलाएका हुन् ।
विवाद के हो ?
पार्टी राजनीतिमा होमिएका कृष्ण कुमार विसीलाई जिल्लाको नेतृत्व सुम्पिन पूर्वराज्यमन्त्री गणेश बहादुर खड्काले निकै जोड गरे । उनको समर्थनमा विसी पार्टीको १२ औं अधिवेशनबाट जिल्ला सभापतिको रुपमा नेतृत्व लिए ।
खड्काले आफ्नै समर्थनमा विसी जिल्ला सभापति भएपछि आफ्नो ताबेदारी होस् भन्ने चाहान्थे तर विसीले त्यसो गरेनन् । खड्का विरुद्ध खनिए । फलस्वरुप पार्टीको १३ औं अधिवेशनमा खड्काले विसीविरुद्ध मणिराम रेग्मीलाई सभापतिमा अघि सारे । तरपनि विसी स्वतन्त्र (प्यानलविहीन) बनेर भएपनि पुनः सभापति निर्वाचित भए ।
उनिहरुबीचको तिक्तता बढिरहेकै अवस्थामा स्थानीय तह निर्वाचनताका विसीले आफु निकटलाई टिकट बाढेपछि झनै दुरी बढेको थियो । तत्कालीन अवधिमा खड्का पार्टीको अनुशासन समितिको जिल्ला संयोजक थिए ।
अनुशासन समितिको संयोजक बनेका खड्काले विसीसहित १४ जनालाई कारबाहीको पत्र थमाए । कारबाही पर्नेहरुमा विसी निकट उम्मेदवार समेत रहेका भुपेन्द्र बहादुर शाही पनि थिए । खड्काले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै कारबाही गरेका थिए । आवश्यक कागजात सहित संलग्न राखिएको सो कारबाही पत्र पार्टीको केन्द्रीय अनुशासन समितिलाई पठाएका थिए ।
पार्टीको कारबाही सिफारिसमा पर्नेहरुमा सभापति विसी, सचिव शाहीसहित लालबहादुर श्रेष्ठ, लोक बहादुर बोगटी, लाल बहादुर शाही, केशव बहादुर शाही, विनोद कुमार श्रेष्ठ, दिपक सुनार, खगेन्द्र सुनार, गंगबहादुर शाही, ईश्वर विष्ट, लयन कुमार विष्ट, भुपेन्द्र बहादुर शाही र पदम बहादुर मल्ल थिए ।

उनिहरुविरुद्ध कारबाही गर्न खड्का एक्लै भने लागेनन् उनिसँगै पार्टीका शिर्ष नेताहरुको पनि साथ थियो । जसमध्ये कर्ण बहादुर शाही, मणिराम रेग्मी, खेमराज केसी, हिक्मत बहादुर विक, लछुमन गुरुङ्ग, मोहनमाया प्याकुरेल, गणेश बहादुर बोगटी, बासना थापा र गणेश उपाध्यायले क्षेत्र नं. १ का तर्फबाट कारबाहीका लागि निवेदन दिएका थिए ।
यस्तै, क्षेत्र नं. २ बाट रंगबहादुर शाही, हिम बहादुर शाही, रिता शाही, गणेश माझी र सुमिता शाहले विसी र शाहीसहित १४ जनालाई कारबाहीका लागि निवेदन दिएका थिए ।
विसीलाई नै कारबाहीका लागि निवेदनमा हस्ताक्षर गरेका गणेश उपाध्यायलाई अहिले आफु निकटको सभापति बनाउने होडमा विसी छन् ।
यतिमात्रै होइन प्रतिनिधी सभा निर्वाचन २०७४ मा काँग्रेस र रारष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच गठबन्धन भएको थियो । गठबन्धनबाट दैलेख क्षेत्र नं. १ मा राप्रपालाई भाग प¥यो । आफुले टिकट नपाएको झोकमा पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध खड्का स्वतन्त्रतर्फबाट बागी उम्मेदवार बने ।
खड्काले पार्टीको ह्विप उलंघन गरेको भन्दै पार्टी सभापति विसीले खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका थिए ।
एउटै समुहमा रहेका खड्का र विसीबीचको तिक्तताले १४ औं महाधिवेशनमा समग्र पौडेल समुहबीचको फुट ल्याएको छ ।
