रोजगार कार्यक्रममा नसमेटेको भन्दै वडा कार्यालयमा तालाबन्दी
सुर्खेत । रोजगार कार्यक्रममा स्थानीय युवाहरुलाई नसमेटिएको भन्दै दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालीका वडा नम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवाहरुलाई नसमेटीएको भन्दै स्थानीय पवन तामाङको नेतृत्वमा युवाहरुको समूहले बुधबार नै तालाबन्दी गरेको हो ।
‘बेरोजगार युवाहरु कोहि एकै पटक पनि कार्यक्रममा समेटिएका छैनन, कोहि चार बर्ष देखि पटक पटक छनोट भइरहेका छन,’ पवनले भने, ‘जनप्रतिनिधिले आफ्नी छोरी,नातेदार, आसेपासे, कार्यकर्तालाई समेटेका छन् तर गरिब युवाहरुलाई बर्षेनी व्यवास्था गरेर कार्यक्रम अघि बढाइए पछि हामी बाध्य भएर तालाबन्दी गरेका छौँ ।’
प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ३६ जनालाई सिफासिर गरिएको छ । ति मध्ये अधिकांश वडा अध्यक्षका नजिकका मानिसहरु रहेको भन्दै युवाहरुले विरोध गरेका हुन् । रोजगार कार्यक्रम अन्तर्गत वडा कार्यालय देखि भिरमान्म सडक निर्माण र कोलडाँडा देखि ध्याप सडक निर्माण योजना छनोट गरिएको छ । जसमा १८, १८ जनामा विभाजन गरिएको छ । ति मध्ये भिरमान्म सडक अन्तर्गत विवाद भएको हो ।
यस बिषयमा वडा कार्यालयले सर्वदलिय बैठकले निर्णय गर्ने बताए पनि बिहीबार बैठक नै बस्न सकेन । वडा सचिव भूपेन्द्र शाहीले सर्वदलिय बैठक बसेर समस्याको समाधान गर्ने गरी छलफल भइरहेको बताए ।
राजनीतिक आस्थाका आधारमा व्यवहार देखाइयो –वडा अध्यक्ष
यता नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रंगबहादुर तामाङले राजनीतिक आस्थाका आधारमा केहि युवाहरुको समूहले वडा कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । ‘३ सय ५९ जनाको लिस्ट मध्ये जम्मा १८ जना छान्नुपर्ने थियो,’ उनले भने, ‘हामीले त्यहाँका सबै नागरिकलाई समेटेर कार्यक्रम अघि बढाएका थियौँ । तर केहि युवाहरु सिमित स्वार्थमा लागेर तालाबन्दी गर्नु भएको छ ।’
कार्यक्रमबारे चित्त नबुझेको अवस्थामा पुनः छनोट गर्नको लागि यहाँका सबै राजनीतिक दलहरुलाई आग्रह गरेपनि त्यो हुन नसकेको बताए । बुधबार देखि लागेको ताला बिहीबार पनि खुल्न सकेको छैन । वडामा प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रति लक्षित गर्दै तामाङले आफुले सुरु देखि नै चुस्तदुरुस्त काम गरेपनि राजनीतिक स्वार्थका कारण केहि मानिसहरु आफ्नो विरोधमा लागेको बताए ।
