भेरी अस्पतालको क्वाटरमा बिते एकै परिवारका चार जना
सुर्खेत । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय अन्तरगतको नेपालगञ्ज मेडिकल स्टोर (आपूर्ती शाखा)मा एकै घरपरिवारका ४ जना मृत्यु भएको छ । मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी धर्म प्रसाद भट्टराईको परिवारका ४ जनाको मृत्यु भएको हो ।
मृतक भट्टराईको परिवार कालिकोटको खडाचक्र नगरपालिका ६, पिली घर भै हाल नेपालगञ्ज मेडिकल स्टोरको आवसगृहमा बस्दै आएका थिए ।
कोठामा ग्याँस पोइजन भएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘बन्द कोठाभित्र टीनको बाकसमा कोइला बालेको भेटिएको थियो’ जिप्रका बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले दुल्लूखबरसँग भने, ‘आगो ताप्ने क्रममा बन्द कोठा भएकोले ग्याँस पोइजन भै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
प्रहरी निरीक्षक घर्ती मगरका अनुसार मृत्यु हुनेमा धनप्रसाद सहित उनका ३ महिनाका छोरा ईप्सन भट्टराई, ४५ वर्षीय आमा कोकीला भट्टराई र २७ वर्षीय दिदि नन्दकली भट्टराई रहेका छन् ।
साथै, परिवारका ७ जनामध्ये श्रीमती शुसीला भट्टराई, छोरा विवस भट्टराई र भाई नरेन्द्र भट्टराई घाइते अवस्थामा रहेका छन् । उनीहरु नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको प्रहरी निरीक्षक घर्तीमगरले दुल्लूखबरलाई जनाए ।
यता, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको टोली नेपालगञ्जतर्फ लागेको छ । भट्टराईको परिवारको मृत्युका विषयमा बुझ्न टोली त्यसतर्फ जाँदै गरेकाे निर्देशक डा.रविन खड्काले जानकारी दिए । ‘मेडिकल स्टोरका कार्यालय सहयोगी भट्राई सहित ४ जनाको मृत्यु भएको खबर पाएपछि हामी जाँदैछौं’ डा. खड्काले भने ।
